काठमाडौं ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमितिका लागि बिहीबार हुने भनिएको मतदानको समय दोस्रोपटक सरेको छ ।
यसअघि, बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि तयारीका लागि भन्दै समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो । अहिले फेरि मतदानको समय २ बजेलाई सरेको हो ।
मतदान अघि राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्रीका उम्मेदवारहरुसँग छलफल गरेको थियो ।
सो छलफलमा मतदान २ बजेदेखि सुरु गर्ने सहमति भएको नेता रञ्जित कर्णले जानकारी दिए । सहमति अनुसार बागमती प्रदेशको मतदान राष्ट्रिय सभा गृहमा र अन्य अन्य प्रदेशको मतदान खुल्ला मञ्चमा हुने पनि कर्णले बताए ।
महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।













