काठमाडौं ।
चाडपर्वका बेला कुनै शङ्कास्पद वा आपराधिक गतिविधि देखे आफैँमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ।
‘इफ यु सी समथिङ, से समथिङ’ अर्थात् ‘केही शङ्कास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठुलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको हो।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले चाडपर्वमा सम्भावित अपराध रोकथाम र अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना अत्यन्त महत्त्वपूर्ण हुने बताए।
‘कुनै पनि शङ्कास्पद वा आपराधिक गतिविधि हुन लागेको वा भइरहेको सूचना प्राप्त भए नजिकको प्रहरी कार्यालयलाई खबर गर्नुस्, सानो सूचनाले ठुलो दुर्घटना वा अपराधबाट समाजलाई जोगाउन सक्छ,’ उनले भने।
नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम गरिने प्रहरीले जनाएको छ। आपत्कालीन अवस्थामा नागरिकले प्रहरीको १०० नम्बरमा निःशुल्क फोन गर्न सक्छन्। जहाँबाट फोन गरिएको हो, सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको छ।
यो सन्देश भौतिक अपराधमा मात्र सीमित छैन। चाडपर्वमा बढ्न सक्ने डिजिटल ठगी र सामाजिक सञ्जालबाट फैलिने गलत सूचनामाथि पनि प्रहरीले निगरानी बढाएको छ।
प्रहरीले सामाजिक सञ्जाल मनिटरिङ डेस्कमार्फत गलत सूचना, दुष्प्रचार र डीपफेक सामग्रीको निगरानी गरिरहेको छ। यस्ता गतिविधिबाट अपराध वा भ्रम फैलाउने काम भए कानुनअनुसार कारबाही गरिने प्रवक्ता काफ्लेले प्रस्ट पारे।
यसपटकको सुरक्षा योजनामा एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई पनि समेटिएको छ। नक्कली अनलाइन सपिङ, चाडपर्वका अफर, नक्कली लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट र प्रोफिट स्किम, मोबाइल बैंकिङ र डिजिटल वालेट ठगीका साथै ओटीपी, पिन र पासवर्ड चोरी गर्न हुने फिसिङप्रति प्रहरीले नागरिकलाई सचेत गराएको छ।
चाडपर्वमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति व्यवस्था कायम गर्न नेपाल प्रहरीले ५० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ। यात्रुको सुरक्षाका लागि देशभर ४ सय ८ स्थानमा र भारत तथा चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा १ सय ८ वटा सहायता कक्ष स्थापना गरिएका छन्।
यसपटकको सुरक्षा योजना घटना भएपछि अनुसन्धान गर्नेभन्दा अपराध हुनुअघि नै रोक्ने रणनीतिमा केन्द्रित छ। घटना घट्न नदिन र चोरी, डकैती, लुटपाट हुनै नदिन विशेष गस्तीको व्यवस्था मिलाइएको काफ्लेले जानकारी दिए।
चोरी, डकैती र लुटपाटसँगै जुवातास, अवैध सट्टेबाजी, कालोबजारी, कृत्रिम अभाव, सार्वजनिक स्थलमा झैझगडा र उच्छृंखल गतिविधिमाथि पनि विशेष निगरानी राखिनेछ।
सीमा क्षेत्रमा तस्करी, सीमा अपराध र विस्फोटक पदार्थको अवैध ओसारपसार रोक्न विशेष जाँचको व्यवस्था गरिएको छ। प्रमुख बजार, सपिङ मल, बैंक तथा वित्तीय संस्था, प्रवेश तथा निकास नाका र बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रमा ड्रोन तथा सीसीटीभीमार्फत निगरानी बढाइएको छ।
चाडपर्वमा ठुलो संख्यामा नागरिक राजधानीबाट बाहिरिने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको छ। सवारीसाधन छुट्ने स्थानमै चालकको लाइसेन्स जाँच र मादक पदार्थ तथा लागूऔषध सेवन परीक्षण गरिनेछ।
लामो दूरीका सवारीसाधनमा दुई चालक राख्ने व्यवस्था कडाइका साथ लागू गर्ने र सवारीसाधनको मेकानिकल परीक्षण प्रतिवेदनसमेत जाँच गर्ने प्रहरीको तयारी छ। सिट क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालोबजारी गर्ने वा यात्रुलाई अनावश्यक दुःख दिने गतिविधिमाथि पनि निगरानी गरिनेछ।
चालकले लापरबाहीपूर्वक सवारी चलाएको देखे यात्रुले तत्काल प्रहरीलाई सूचना दिन सक्नेछन्। सूचना प्राप्त भएपछि अगाडिको प्रहरी स्टेसनबाटै सम्बन्धित सवारी नियन्त्रणमा लिई कारबाही गर्ने व्यवस्था मिलाइएको छ।
लामो समय घर बाहिर जाने नागरिकलाई आफ्नो घर खाली रहेको सूचना सामाजिक सञ्जालमा नराख्न प्रहरीले सुझाव दिएको छ। घर छाड्नुअघि झ्यालढोका राम्रोसँग बन्द गर्ने, ग्यास र विद्युत् जाँच गर्ने, भरपर्दो तालाचाबी प्रयोग गर्ने र सीसीटीभी तथा पर्याप्त प्रकाशको व्यवस्था गर्न अनुरोध गरिएको छ। भीडभाडमा नगद, गरगहना र महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ।
सुरक्षित चाडपर्वका लागि सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रहरीले नागरिक, स्थानीय समुदाय, व्यवसायी र अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सुरक्षा सचेतना बढाउने र नागरिकबाट सूचना प्राप्त गर्ने कामलाई तीव्रता दिइनेछ।
चाडपर्व अवधिमा सम्भावित विपद्का घटनालाई समेत सुरक्षा योजनामा समेटिएको छ। विपद् तालिम केन्द्र र प्रदेशस्तरीय विपद् व्यवस्थापन गुल्मका प्रहरीलाई खोज, उद्धार र राहतका लागि २४सै घण्टा तयारी अवस्थामा राखिएको छ।
मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी विपद्सम्बन्धी सूचना नागरिकसम्म पुर्याइनेछ। पहिरो वा अन्य कारणले सडक अवरुद्ध भए सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने व्यवस्था मिलाइएको छ।
शङ्कास्पद गतिविधि देखिए तत्काल सूचना दिन र चाडपर्वमा आफू सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित राख्न स्वअनुशासन कायम गर्न प्रहरीले सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।












