धनुषा ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन्।
जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र साङ्गठनिक रूपमा दुई धारमा बाँडिदिएकाले अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाए। लोकतन्त्र केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण गराउँदै उनले बहुमतका आधारमा मात्रै पार्टी नचल्ने तर्क गरे।
निर्वाचन आयोगमा पेस गरिएको तथ्याङ्क अनुसार आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको दाबी गर्दै उनले उक्त मतलाई बेवास्ता गरेर गरिएका निर्णयहरू अमान्य हुने जिकिर गरे।
विशेष महाधिवेशन र त्यसपछिका घटनाक्रमले पार्टीलाई जोड्न नसक्ने भएकाले नयाँ ढङ्गले साङ्गठनिक यात्रा तय गर्नुपर्नेमा उनले जोड दिए।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निधिले कार्यकर्ताहरूलाई वडा तहबाटै नयाँ ऊर्जाका साथ खटिन निर्देशन दिए। युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै उनले आफू वैचारिक रूपमा अझै सक्रिय रहेको र पार्टी पुनर्निर्माणका लागि प्रतिबद्ध रहेको बताए।













