शुक्रबारसम्म देशभर वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

rain flows down from a roof down

काठमाडौं ।

नेपालमा शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबारबाट मात्रै मौसममा क्रमिक सुधार आउनेछ।

अहिले धान भित्र्याउने समय भएकोले कृषि कार्य गर्दा मौसमको पछिल्लो जानकारी लिएर मात्र अघि बढ्न किसानलाई आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। विभागको अनुसार पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। चितवनको गोविन्दबस्ती र धनगढी विमानस्थल आसपासमा भने अन्य क्षेत्रको तुलनामा बढी वर्षा मापन गरिएको छ।

पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको विभागले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ।

बुधबार दिनभर देशका पहाडी र हिमाली भूभागमा बढी वर्षा हुने अनुमान गरिएको छ। मधेस र कोशी प्रदेशका साथै तराईका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका पहाडी तथा तराई भूभाग अनि कोशीका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ। यी मध्ये केही प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए।

बिहीबार भने बुधबारको तुलनामा वर्षा केही कम हुनेछ। पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा भए पनि पश्चिमी र तराईका क्षेत्रमा वर्षाको मात्रा घट्ने विभागको पूर्वानुमान छ।

आगामी शुक्रबार पूर्वी क्षेत्र र सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना छ भने अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। शुक्रबार लुम्बिनी, गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रमा भने धेरै पानी पर्ने अवस्था छैन।

विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहेँलो रङको चेतावनी जारी गरेको छ । मौसमको पछिल्लो सूचना अद्यावधिक गर्दै पूर्वतयारी र सावधानी अपनाउनुपर्ने अवस्थामा पहेँलो चेतावनी दिने गरिन्छ।

  • २१ आश्विन २०८३, बुधबार १२:१४ प्रकाशित