काठमाडौं ।
बाढीपहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक खण्ड पुनः सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।
गत असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा खसेको पहिरोले सडकका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटा र अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरबाहेक अन्य सबै स्थानमा पहिरो पन्छाएर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ ।
अहिले कुनौटा र पोखरेबगरमा तीव्र गतिमा काम भइरहेको छ । पोखरेबगरमा कालीगण्डकी नदीले बगाएको पुलको एप्रोच सडक मर्मतका लागि ग्याबियन टो–वाल निर्माण गरी माटो भर्ने काम भइरहेको छ भने कुनौटामा एक्साभेटर प्रयोग गरी अवरुद्ध ट्रयाक खोल्ने काम जारी छ ।
मन्त्रालयले सडक स्तरोन्नतिको कामलाई समेत निरन्तरता दिँदै आगामी सोमबारसम्म उक्त सडक खण्डमा सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ ।














