पोखरा।
मनाङको हिमलुङ हिमाल हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव भेटिएको छ ।
हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज चार शव फेला पारेको जानकारी दिएको छ । आज पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी राखेको थियो ।
एसोसिएसनको अनुसार खोजीको क्रममा थप चार शव फेला परेको हो । यससँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ । ९ असोजदेखि प्रतिकूल बनेको मौसमले यस हिमालमा हिम पहिरो निम्त्याएको थियो ।
हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन् ।













