कांग्रेस स्याङ्जा–२ मा पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

केन्द्रभाग मिडिया

 

स्याङ्जा ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा पुन मतदान गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जिल्ला निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालालाई पत्र पठाउँदै १३ असोजमा भएको मतदान पूर्ण रूपमा सम्पन्न नभएको र त्यस क्रममा १५ प्रतिशत मतदाताले समेत मतदान गर्न नपाएको भन्दै पुनः मतदान गराउन निर्देशन दिएका हुन् ।

समितिको पत्रमा बाँकी मतदातालाई समेत जानकारी गराएर पुनः मतदानको प्रक्रिया अघि बढाउन भनिएको छ । स्याङ्जा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनको मतदान १३ असोजमा सुरु भएको थियो । तर मतदानका क्रममा निर्वाचन व्यवस्थापन र प्रक्रियालाई लिएर विवाद भएपछि मतदान स्थगित भएको थियो ।

वालिङमा भएको मतदानका क्रममा निर्वाचन अधिकृतको कार्यशैली र निर्वाचन व्यवस्थापनप्रति प्रश्न उठाउँदै केही पक्षले विरोध गरेका थिए ।

मतदान केन्द्रमा होहल्ला भएपछि केही समय प्रक्रिया रोकिएको थियो । पछि मतदान सुरु भए पनि विवाद समाधान हुन नसकेपछि निर्वाचन स्थगित गरिएको थियो ।

मतदानका क्रममा विभिन्न पक्षले मतको संख्यालाई लिएर समेत फरक–फरक दाबी गरेका थिए । क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश ‘क’ मा २७३ मत र प्रदेश ‘ख’ मा ४०२ मत गरी मतदान रोकिँदासम्म जम्मा ६७५ मत खसेको बताइएको थियो ।

केन्द्रीय निर्वाचन समितिको पत्रसँगै अब स्याङ्जा–२ मा यसअघि विवादित बनेको मतदानलाई निरन्तरता दिने नभई पुनः मतदान प्रक्रियाबाट निर्वाचन अघि बढ्ने भएको छ ।

 

 

  • १५ आश्विन २०८३, बिहीबार ११:४९ प्रकाशित