एमालेका केन्द्रीय सदस्यको शपथ ग्रहण स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रम भोली असोज १६ गते दिउसो ३ बजेलाई सारिएको अधिकारीले जानकारी दिए ।

एमालेले अस्ती असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको केन्द्रीय कमिटीबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

यसैगरी नेता बस्नेतलाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले बिहान दुवाकोट स्थित क्यान्सर अस्पताल पुग्नुहुनेछ । बस्नेतको आजै साढे ८ बजे पशुपति आर्यघाटको विद्युतीय शवगृहमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए। लामो समय देखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराती उपचारका क्रममा निधन भएको हो ।

  • १५ आश्विन २०८३, बिहीबार ११:२९ प्रकाशित