अब यातायात व्यवस्था विभागको वेबसाइटमै ‘भाडा दर हेर्न मिल्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गर्दै यातायात व्यवस्था विभागले यात्रुहरुको सहजताका लागि आफ्नो आधिकारिक वेबसाइटमा डिजिटल रूपमा भाडा दर हेर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

यसअघि विभागको वेबसाइटमा पिडिएफ फाइलमा मात्र लामो सूचीसहितको भाडादर राखिने गरिएकोमा अब भने सेवाग्राहीले अनलाइनमै सहजै सर्च गरेर (खोजेर) आफ्नो गन्तव्यको भाडा हेर्न सक्ने भएका हुन् ।

विभागका निर्देशक मणिराम भुसालका अनुसार गत असारमै समायोजन भएको भाडादरलाई सर्वसाधारणले सजिलै बुझ्ने र हेर्न सक्ने गरी आइटी शाखामार्फत वेबसाइटमा डिजिटल प्रणालीमा राखिएको हो ।

विभागको वेबसाइटमा गएर ‘भाडा दर खोजी’ विकल्पमा क्लिक गरी आफ्नो प्रस्थान बिन्दु र गन्तव्य (जस्तैः काठमाडौँदेखि पोखरा) छानेपछि यात्रुले सजिलै तोकिएको आधिकारिक भाडादर थाहा पाउन सक्नेछन् ।

हाल वेबसाइटमा सरकारले स्वीकृत गरेका देशभरका मुख्य राजमार्गका रुटहरूको भाडादर राखिएको छ ।निर्देशक भुसालले भने, ‘वेबसाइटमा स्वीकृत सबै रुटहरुको भाडादर राखिएको छ । यदि कुनै ठाउँको अपडेट गर्न बाँकी रहेको भए आजै प्रशासन र आइटी शाखालाई निर्देशन दिएर देशभरका सबै एप्रुभ्ड रुटहरुको भाडादर अद्यावधिक गरिनेछ ।’

दशैँ, तिहार, छठजस्ता चाडपर्वको समयमा यात्रुहरू ठगिने र तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने गुनासो बढी आउने गर्छ । यो डिजिटल प्रणालीले अब सेवाग्राहीलाई कुन ठाउँको भाडा कति छ भनेर मोबाइलबाटै यकिन गर्न सहज बनाउनेछ ।

  • १४ आश्विन २०८३, बुधबार १५:३४ प्रकाशित