पोखराको बिन्दबासिनी र लामेआहाल बसपार्कको प्रारम्भिक डिजाइन सार्वजनिक

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको बिन्दबासिनी बसपार्क (साबिक बागलुङ बसपार्क) र लामेआहाल बसपार्क निर्माणको प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिइएको छ।

बिन्दबासिनी र लामेआहाल बसपार्कको अवधारणागत योजना तथा प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिने सम्बन्धमा पोखरा महानगरपालिका, एसियाली विकास बैंक परियोजना टोली तथा परामर्शदाता कम्पनीबीच संयुक्त भर्चुअल बैठक सम्पन्न भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । पोखरा महानगरपालिकाका प्रमुख आचार्यको अध्यक्षतामा सम्पन्न उक्त बैठकपछि आचार्यले आफ्नो फेसबुकमार्फत बसपार्कको प्रारम्भिक डिजाइन सार्वजनिक गरेका छन् ।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, एसियाली विकास बैंक एसियाली विकास बैंक एडीबीका प्रिन्सीपल ट्रान्सपोर्ट स्पेसलिष्ट अरुण रामामुर्थि, एडीबीका दिगो शहरी गतिशीलता टोली तथा शाह कनसल्ट इन्टरन्यासनल प्रालि की पुनम साहसहित डिजाइन टोलीको सहभागिता रहेको थियो ।

बैठकले बिन्दबासिनी र लामेआहाल बसपार्कको अवधारणागत योजना तथा प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिएको छ। साथै, पृथ्वी बसपार्कको साइट शीघ्र क्लियर गरी विस्तृत सर्वेक्षण अघि बढाउने निर्णयसमेत भएको छ।

पोखरा महानगरपालिकाको ई–मोबिलिटी परियोजनाअन्तर्गत अघि बढाइएका यी महत्वपूर्ण पूर्वाधार परियोजनाको कुल बजेट करिब ५ अर्ब रहेको छ।

यी बसपार्कहरू सहित ईमोबिलिटि का लागि पब्लिक बस हरुको रुपान्तरण गर्ने योजना रहेको छ। यस परियोजना हरु पोखरामा आधुनिक, व्यवस्थित, दिगो, सुरक्षित तथा वातावरणमैत्री सार्वजनिक यातायात प्रणाली विकास गर्ने उद्देश्यले अघि बढाइएका महत्वपूर्ण परियोजना हुन्।

पोखराको सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित, वातावरणमैत्री तथा यात्रुमैत्री बनाउन यी परियोजनाले महत्वपूर्ण आधार तयार गर्ने महानगरको विश्वास छ ।

  • १४ आश्विन २०८३, बुधबार १४:२१ प्रकाशित