पोखरा ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ मा पुन निर्वाचन गर्नुपर्ने उम्मदेवार सुवास सिग्देलले माग गरेका छन् । कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको निर्वाचनमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ३२ भन्दा बढी मतपत्रलाई मान्यता दिइएको भन्दै उम्मेदवार सुबास सिग्देलले निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्न माग गरेका हुन्।
सिग्देलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनसम्बन्धी प्रचलित नियम तथा व्यवस्थाअनुसार निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रलाई अवैध मानिनुपर्ने दाबी गरेका छन्। तर, नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता देवराज चालिसेले हस्ताक्षर नभएका मतपत्रलाई समेत मान्यता दिने निर्णय गरेको भन्दै उनले त्यसप्रति गम्भीर असहमति जनाएका छन्।
‘निर्वाचनको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता कायम गर्नु लोकतान्त्रिक अभ्यासको मूल आधार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका स्थापित नियम र विधिलाई बेवास्ता गरी गरिएको यस्तो निर्णयले निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ।’
सिग्देलले उक्त निर्णय पुनरावलोकन गरी निर्वाचन प्रक्रियालाई विधिसम्मत, निष्पक्ष र पारदर्शी बनाउन माग गरेका छन्। उनले सम्पूर्ण मतदाताको मताधिकार र विश्वासको सम्मान गर्न पनि आग्रह गरेका छन्।
उनले आफ्नो मुख्य मागका रूपमा कास्की क्षेत्र नं। २ को क्षेत्रीय सभापति पदको निर्वाचन नै रद्द गरी पुनः निर्वाचन गर्नुपर्ने बताएका छन्। यसबाट मात्रै लोकतान्त्रिक मूल्य, पार्टीको विधान र निर्वाचन प्रक्रियाप्रतिको जनविश्वास कायम राख्न मद्दत पुग्ने उनको भनाइ छ।
सिग्देलले आफू नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, विधिको शासन र निष्पक्ष निर्वाचनप्रति प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत स्पष्ट पारेका छन्।














