एसियन गेम्स क्रिकेट

वर्षाका कारण श्रीलंकासँगको खेल रद्द, नेपाल बाहिरियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

श्रीलंकासँगको क्वार्टरफाइनल खेल मंगलबार वर्षाका कारण हुन नसकेपछि नेपाली क्रिकेट टोली २० औं एसियाली खेलकुदबाट बाहिरिएको छ । जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कोरोगी स्पोर्टस पार्कमा नेपाल र श्रीलंकाको खेल टस पनि हुन नपाई रद्ध भएको हो । मंगलबार बिहान पौने ६ बजे जापानको कोरोगी स्पोर्ट्स पार्कमा हुने तय भएको खेल वर्षाका कारण रद्द भयो ।

खेल नभएका खण्ड्मा उच्च वरीयता टोली अघिल्लो चरणमा अगाडि बढ्ने नियमानुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । ट्वान्टी–२० विश्व वरीयतामा श्रीलंका नवौं र नेपाल १४ औं स्थानमा छ ।

नागोयामा शनिबार देखि नै निरन्तर वर्षा भइरहेको छ । नेपाल र जापान बीच शनिबार भएको समूहचरणको खेल वर्षाले पुरा हुन दिएको थिएन । सोमबार पाकिस्तान र हङकङ तथा भारत र पाकिस्तान बीचको खेल पनि एक बल पनि नफाली रद्ध हुन पुगेको थियो ।

नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि जापानसँग समूहचरणको अन्तिम खेल वर्षाले प्रभावित हुन पुगेको थियो । वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नेपालले ४ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । तर इनिङ्स सकिए लगत्तै वर्षा भएका कारण थप खेल हुन सकेको थिएन् ।

 

  • १३ आश्विन २०८३, मंगलवार ०७:३२ प्रकाशित