स्याङ्जा ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको संघारमा स्याङ्जा कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण सतहमा आएको छ । वडा र स्थानीय तहको नेतृत्व चयनपछि क्षेत्रीय अधिवेशनमा केन्द्रित कांग्रेस स्याङ्जा अहिले विशेष महाधिवेशन पक्षधर र नियमित प्रक्रियालाई निरन्तरता दिनुपर्ने पक्षधर गरी दुई धारमा देखिएको छ ।
केन्द्रीय नेतृत्वमा देखिएको राजनीतिक ध्रुवीकरणको प्रभाव जिल्ला तहसम्मै परेको नेताहरू बताउँछन् । विशेष महाधिवेशनमार्फत पार्टीभित्र परिवर्तन र नयाँ नेतृत्वको पक्षमा उभिएको समूहको नेतृत्वमा भरतराज ढकाल देखिएका छन् भने नियमित महाधिवेशनको पक्षमा रहेको अर्को समूहमा पूर्वकेन्द्रीय उपसभापति धनराज गुरुङ, जिल्ला सभापति राजु थापालगायतका नेता सक्रिय देखिएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार १५ औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको प्रक्रिया अघि बढिसकेको छ र केन्द्रीय महाधिवेशन १६ असोज देखि १९ असोजसम्म गर्ने कार्यतालिका छ ।
नेपाली कांग्रेस स्याङ्जाका ११ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको छ। पाँच पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको थियो भने छ पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको विवरण सार्वजनिक भएको छ। यससँगै क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि छनोटको प्रतिस्पर्धा तीव्र बनेको हो ।
सहमतिको प्रयास असफल
जिल्ला सभापति राजु थापा र नेता भरतराज ढकालबीच केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटमा सहमति जुटाउने पटक–पटकको प्रयास सफल हुन नसकेपछि समूहगत तयारी तीव्र भएको कांग्रेसका स्थानीय नेताहरूको भनाइ छ ।
जिल्लामा लामो समयदेखि संगठनमा सक्रिय रहेका नेताहरूलाई सहमतिमै प्रतिनिधि बनाउने प्रयास गरिएको दुबै पक्षको दाबी छ । सहमतिको प्रयास सफल नहुनुमा दुबैपक्षले एकअर्कालाई दोषी देखाएका छन् । महाधिवेशन प्रतिनिधिका आकांक्षी नारायण ढकालले सहमतिविरुद्ध कार्यकर्तालाई विभाजित गर्ने प्रयासमा नलाग्न आग्रह गरेका छन् ।
‘बदलियो कांग्रेस’को नारामाथि प्रश्न
कांग्रेसको केन्द्रीय नेतृत्वले अघि सारेको ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराको प्रभाव जिल्ला अधिवेशनमा पनि देखिनुपर्ने आवाज कांग्रेसभित्रै उठेको छ । एक जिल्ला नेताका अनुसार नेतृत्व चयनमा पुरानै गुटगत अभ्यास दोहोरिएमा पार्टीले घोषणा गरेको परिवर्तनको सन्देश कार्यकर्तासम्म पुग्न कठिन हुन्छ । ‘नारा र मुद्दा नयाँ बनाउने तर नेतृत्व चयनको शैली पुरानै राख्ने हो भने कार्यकर्ताले परिवर्तनको अनुभूति गर्न सक्दैनन्,’ ती नेताले भने ।
युवा तथा परिवर्तन पक्षधर प्रतिनिधिहरूले स्थानीय तहदेखि नै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने माग गरिरहेका छन् । अर्कोतर्फ, अनुभवी नेताहरूको भूमिकालाई निरन्तरता दिनुपर्ने मत पनि कांग्रेसभित्र रहेको छ ।
प्रतिनिधि छनोटमै शक्ति परीक्षण
क्षेत्रीय अधिवेशनमा खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि दुवै पक्षबाट आकांक्षीहरू अघि सारिएका छन् । स्याङ्जा क्षेत्र नम्बर १ मा विशेष महाधिवेशन पक्षधर समूहबाट भरतराज ढकाल, गोविन्द रानाभाट, भरतप्रसाद लम्साल, श्रीराम उपाध्याय, इन्जिनियर अनुप श्रेष्ठ, रविन्द्र केसी ‘रविन’, विष्णुप्रसाद काफ्ले, लक्ष्मीप्रसाद बराल, रामचन्द्र पौडेल र चन्द्रबहादुर भट्टलगायतले मनोनय दर्ता गराएका छन् ।
अर्कोतर्फ धनराज गुरुङ, राजु थापा, तुलसीराम रेग्मी, अजित क्षेत्री, डोलबहादुर खड्का, दीपक लम्साल, प्रेमराज पौडेल, प्रकाश तिवारी, केशरबहादुर खाँण र सूर्य लामिछाने समूह निर्माण गरेरै मनोनयन दर्ता गरेका छन् । मंगलबार हुने निर्वाचन मार्फत महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ । यसअघि प्रतिनिधिसभा निर्वाचनका लागि पनि स्याङ्जा क्षेत्र नं. १ बाट धनराज गुरुङ, राजु थापा, भरतराज ढकाल, गोविन्दबहादुर रानाभाटलगायत नेताहरूको नाम कांग्रेसले सिफारिस गरेको थियो ।
थापालाई गुरुङको साथ कि दबाब ?
जिल्ला सभापति राजु थापाका लागि पूर्वकेन्द्रीय उपसभापति धनराज गुरुङको सक्रियता अर्को चुनौतीका रूपमा देखिएको कांग्रेसभित्र चर्चा छ । थापा र गुरुङ एउटै समूहमा रहेर प्रतिनिधि छनोटको तयारी गर्दा पनि सीमित पदमा आकांक्षीको संख्या धेरै भएकाले सबैलाई व्यवस्थापन गर्न कठिन भएको स्थानीय नेताहरू बताउँछन् । प्रतिनिधि छनोटमा व्यक्तिगत सम्बन्धभन्दा समूहगत समीकरण हाबी हुन थालेपछि जिल्ला सभापतिलाई आफ्नै समूह व्यवस्थापन गर्नसमेत चुनौती थपिएको उनीहरूको भनाइ छ ।
मनोनयन शुल्कमा विवाद
क्षेत्रीय अधिवेशनको मुखमा स्याङ्जामा उम्मेदवारी मनोनयन शुल्कसमेत विवादमा परेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिकामा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम नलिन देशभरका निर्वाचन समितिलाई निर्देशन दिएको छ । विभिन्न जिल्लाबाट तोकिएको शुल्कभन्दा बढी रकम लिइएको गुनासो आएपछि केन्द्रीय निर्वाचन समितिले यस्तो निर्देशन दिएको हो ।
निर्वाचन निर्देशिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि १० हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ७ हजार, उपसभापति तथा सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार र क्षेत्रीय सदस्यका लागि २ हजार रुपैयाँ तोकिएको विवरण सार्वजनिक भएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापतिका लागि ७ हजार, उपसभापति तथा सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
तर स्याङ्जामा महाधिवेशन प्रतिनिधिका उम्मेदवारसँग १४ हजार रुपैयाँसम्म शुल्क लिइएको एक उम्मेदवार प्रष्ट्याएका छन् । ‘केन्द्रले ७ हजार तोकेको छ । हामीसंग १४ हजार रुपैयाँ लिइयो । खाना खाजा व्यवस्थापनका लागि डबल शुल्क लिइएको भनेपछि हामीले पनि शुल्क बुझायौं,’ केन्द्रीय महाधिवेशन प्रतिनिधिका एक प्रतिस्पर्धीले भने । त्यस्तै प्रदेशसभा क्षेत्रीय कार्यसमितिका विभिन्न पदमा पनि निर्देशिकाले तोकेको भन्दा बढी शुल्क लिइएको छ ।
कांग्रेसको स्याङ्जा जिल्ला निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत फणीन्द्र कोइरालाले केन्द्र र आफूहरुले समेत उम्मेदवारसंग केन्द्रले तोकेको भन्दा धेरै शुल्क नलिन निर्देशन नै दिइएको बताए । तर, कोही उम्मेद्वारले समझ्दारीमा पार्टीलाई चन्दा दिन सक्ने भन्दै उनले बढी शुल्क लिइएको हुनसक्ने संकेत भने गरे । ‘केन्द्रीय निर्वाचन समिति र हामीले समेत मातहतका निर्वाचन समितिलाई तोकिएभन्दा बढी शुल्क नलिन कडाइका साथ भनेका छौं । निर्वाचन समितिले बढी शुल्क लिएको पनि छैन । तर, पार्टी भित्रको आन्तरिक समझ्दारीमा कोही उम्मेदवारले पार्टीलाई चन्दा दिन्छु भन्यो भने नपाउने पनि भएन । त्यो निर्वाचनको शुल्कको रुपमा लिइएको भने छैन’ उनले भने ।
क्षेत्रीय अधिवेशनमा के हुँदैछ ?
स्थानीय तहको नेतृत्व चयन सकिएपछि स्याङ्जा कांग्रेसको शक्ति सन्तुलन अब क्षेत्रीय अधिवेशनमा परीक्षण हुने भएको छ । दुबै पक्षले प्यानल नै बनाएर उम्मेद्वारी दिएपछि अब मंगलबार हुने मतदान मार्फत नै नै महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले महाधिवेशन प्रतिनिधि छनोट नै जिल्लाभित्रका दुई धारको वास्तविक शक्ति परीक्षण बन्ने देखिन्छ ।
क्षेत्रीय अधिवेशनमा प्रतिनिधि चयनको परिणामले आगामी जिल्ला तथा केन्द्रीय तहको नेतृत्व समीकरणमा समेत प्रभाव पार्ने भएकाले स्याङ्जा कांग्रेसको अधिवेशनलाई जिल्लाभित्रको मात्र प्रतिस्पर्धाका रूपमा हेरिएको छैन । विशेष महाधिवेशन, नियमित महाधिवेशन, नयाँ पुस्ताको नेतृत्व र पुरानो शक्ति संरचनाबीचको बहस अब प्रतिनिधि छनोटमै देखिने भएको छ ।














