काठमाडौं ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रसुवा बाढीबाट प्रभावित विद्यार्थीहरूलाई शुल्कमा सहुलियत तथा छात्रावासको व्यवस्था गर्न माग गरेको छ ।
त्रिवि उपकुलपति प्रा।डा।भोला थापालाई आज सोमबार ज्ञापनपत्र बुझाउँदै रसुवा बाढी प्रभावित विद्यार्थीलाई त्रिविमा अध्ययनका क्रममा लाग्ने शैक्षिक शुल्क सहुलियत प्रदान गर्न र छात्रावासको व्यवस्था गर्न माग गरेको हो ।
त्रि।वि। जिल्ला कमिटीका कार्यवाहक संयोजक हिक्मत कुमार बुढाले विश्वविद्यालयको हित, शैक्षिक सुशासन तथा विद्यार्थीका हकहितका लागि तत्काल कदम चाल्न विश्वविद्यालय प्रशासनसमक्ष माग गरिएको बताए । अनेरास्ववियुले त्रि।वि।को ६७ औँ सिनेट बैठक यथाशीघ्र आह्वान गरी रोकिएका वार्षिक बजेट, नीतिगत तथा प्रशासनिक निर्णयहरू पारित गर्न र रिक्त सिनेट सदस्यहरूको मनोनयन प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ ।
यसैगरी त्रिवि सम्बन्धनसम्बन्धी नियम विपरीत एउटै भौतिक पूर्वाधार र व्यवस्थापन प्रयोग गरी अन्य विश्वविद्यालय वा बोर्डका कार्यक्रम सञ्चालन गर्ने क्याम्पसहरूमाथि छानबिन गरी कारबाही गर्न तथा त्रिविका अतिक्रमित चल–अचल सम्पत्ति कानुनी प्रक्रियामार्फत फिर्ता ल्याउन जोड दिएको छ ।
विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्राज्ञिक मर्यादा र विद्यार्थीका जायज मागहरूको सम्बोधन गर्नु प्रशासनको प्राथमिक दायित्व भएको बताउँदै अनेरास्ववियुले स्पष्ट कार्ययोजना सार्वजनिक गरी कार्यान्वयन गर्न आग्रह गरेको छ । यदि मागहरू शीघ्र सम्बोधन नगरिएमा विद्यार्थी, प्राध्यापक तथा सरोकारवाला पक्षहरूसँग समन्वय गरी थप दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएको छ ।














