मर्स्याङ्दी नदीको बहाव घट्दै, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन

केन्द्रभाग मिडिया

लमजुङ ।
वर्षाका कारण बढेको मस्र्याङ्दी नदीको पानीको सतह र बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए । उनका अनुसार केही दिनअघि नदीमा पानीको बहाव असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ ।

‘अहिले पानीको सतह घट्दै गइरहेको छ । केही दिनअघि असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै बहाव देखिएको थियो, अहिले फेरि सामान्यतर्फ फर्किरहेको अवस्था छ,’ उनले भने,’तत्काल जोखिम छैन । सुरक्षित तरिकाले बस्न सकिने अवस्था छ ।’

यसअघि मनाङको चामे क्षेत्रमा घट्टेखोलामा पहिरो खसेर खोला थुनिन सक्ने र त्यसबाट बाढी आउन सक्ने जोखिम देखिएपछि मस्र्याङ्दी नदी आसपासका तटीय क्षेत्रमा पनि सतर्कता अपनाइएको थियो । हाल लमजुङ खण्डमा भने नदीको पानीको सतह घट्दै गएको जनाइएको छ ।

यद्यपि आइतबार एक निरन्तर वर्षाका कारण बाढीले जिल्लाका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बेँसीसहर नगरपालिका–११ र उदिपुर क्षेत्रको बीचमा मस्र्याङ्दी नदीमाथि रहेको मोटरेबल पुलमा समेत क्षति पुगेको छ ।

पुलमा क्षति पुगेपछि उक्त पुल हुँदै दोर्दी गाउँपालिकाको केन्द्र तथा बेँसीसहर–११ लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी खनालले आफू प्राविधिकसहित आज पुल तथा बाढीबाट क्षति पुगेका अन्य स्थानको निरीक्षणमा जाने जानकारी दिए ।

यसैबिच निरीक्षणपछि आवश्यकताअनुसार पुलको मर्मतसम्भारको काम अघि बढाइने उनले बताए । नदीमा पानीको बहाव बढेपछि मस्र्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजना पनि प्रभावित भएका थिए ।

जोखिम बढेपछि आइतबार ७० मेगावाटको मध्य–मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरी पानी पूर्ण रूपमा बाहिर छाडेका थिए । हाल नदीको बहाव र पानीको सतह घट्दै गएकाले दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

नदीको अवस्था सुरक्षित भएपछि आयोजनाहरू सञ्चालनमा आउने उनको भनाइ छ । निरन्तर वर्षाका कारण मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्नुका साथै लेदो, बालुवा तथा गेग्रानको मात्रा बढेपछि आयोजनाहरूमा जोखिम बढेको थियो । त्यसैलाई ध्यानमा राख्दै सुरक्षाका लागि विद्युत् उत्पादन रोकेर पानी बाहिर छाडिएको थियो ।

प्रमुख जिल्ला अधिकारी खनालका अनुसार अहिले नदीको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । केही दिनअघिको तुलनामा पानीको सतह घट्दै गए पनि वर्षाको अवस्था हेरेर सतर्कता भने कायम राख्नुपर्ने अवस्था रहेको उनले बताए । रासस

  • १२ आश्विन २०८३, सोमबार १०:२८ प्रकाशित