मुस्ताङमा सडक, बिजुली र इन्टरनेट अवरुद्ध, जनजीवन प्रभावित

केन्द्रभाग मिडिया

पोखरा ।

हिमाली जिल्ला मुस्ताङमा सडक, विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।वर्षा र हिमपातका कारण विद्युत तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

यस्तै बाढी–पहिरोका कारण विभिन्न ठाउँमा सडक भत्किएको छ भने बिजुली र इन्टरनेट नहुँदा जिल्लाको जनजीवन प्रभावित भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले अवरुद्ध भएका सेवाहरू छिटोभन्दा छिटो सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी तीव्र रूपमा काम भइरहेको जनाएको छ ।

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार म्याग्दीतर्फ बाटै प्रसारण लाइनमा समस्या आएकाले जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको हो ।

मोबाइल नेटवर्कमा केही सुधार देखिए पनि इन्टरनेट सेवा भने पूर्ण रूपमा ठप्प रहेको उनले बताइन् ।

पहिरोका कारण मुस्ताङ जोड्ने मुख्य सडक तथा उपल्लो मुस्ताङतर्फको सडक पनि अवरुद्ध भएको छ । लेते, समर खोला, घमी लगायतका ठाउँमा सडकमा क्षति पुगेको उनले बताइन् । ‘

यसैबीच उत्तरी कोरला नाकातर्फ परेको हिउँ बिस्तारै पग्लिन थालेको प्रशासनले जनाएको छ । नाकामा रोकिएका कन्टेनर तथा सवारीसाधन झर्नका लागि अझै केही समय लाग्ने बताइएको छ । सडकको अवस्था र जोखिम हेरेर मात्र गाडीहरु झार्ने प्रशासनले जनाएको छ ।

  • १२ आश्विन २०८३, सोमबार १०:२३ प्रकाशित