फ्लाई दुबईको पोखरा–दुबई नियमित उडान सुरु

पोखरा विमानस्थल आउँदा ११३ यात्रु र दुबई फर्कँदा १५२ यात्रु, उत्साहित पोखरेलीले गरे भव्य स्वागत

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक उडान सुरु भएको छ । निर्माण सम्पन्न भएको झण्डै ४ वर्षमा फ्लाईदुबईले पोखरा–दुबई–पोखरा अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । बुधबार साँझ फ्लाई दुबईको बोइङ ७३७ जहाज पोखरा अबतरण गरेर पोखराबाट दुबईका लागि उडान भरेको छ ।

फ्लाई दुबईको एफडिबी ११६५ कलसाइनको जहाज नेपाली समयअनुसार दिउँसो २ बजे दुबईबाट उडेको थियो । करिब चार घण्टा १९ मिनेटको उडानपछि जहाज साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । १५६ इकोनोमिक र १० बिजनेस क्लास गरी १६६ यात्रु क्षमताको जहाजमा पहिलो उडानमार्फत ११३ यात्रु पोखरा पोखरा उत्रिएका छन् । पोखरा आएको जहाज बुधबार साँझ नै १५२ यात्रु लिएर उडान भरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार १४९ जना इकोनोमिक र तीन जना बिजनेस क्लासका यात्रु दुबई फर्किएका हुन् । १५३ यात्रु फर्किने तयारी भए पनि अन्तिम समयमा एक यात्रुले टिकट रद्द गरेका थिए ।

फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई उडान दैनिक गर्नेछ । फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीका अनुसार सुरुमा तीन महिनाका लागि अग्रिम टिकट बुकिङ खुलाइएको छ । त्यसपछि यात्रुको चापका आधारमा थप तीन महिनाका लागि बुकिङ खुलाइनेछ । छ महिनाको परीक्षण उडानपछि मात्रै पोखरा–दुबई उडानलाई दीर्घकालीन रूपमा निरन्तरता दिने विषयमा निर्णय गरिने उनले बताए ।

  • उत्साहित पोखरेलीले गरे भव्य स्वागत

पोखरा–दुबई उडान सुरु भएको खुसीयालीमा पोखरामा पहिलो उडानबाट आएका यात्रुलाई भव्य स्वागत गरिएको थियो । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्था तथा पर्यटन व्यवसायीले विमानस्थलमा यात्रुलाई खादा र मालासहित स्वागत गरेका थिए ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडानले सबैको दुबिधालाई मेट्दै पोखरा र पोखरेलीलाई उत्साहित बनाएको प्रतिक्रिया दिए । उनले अहिलेसम्म १६० भन्दा धेरै अन्तराष्ट्रिय उडान भएपनि अन्तर्राष्ट्रिय व्यवसायिक उडान हुन नसकेको स्मरण गर्दै यो व्यवसायिक उडानले धेरै नै सम्भावनाको ढोका खोजेको बताए ।

पहिलो उडानबाट पोखरा आउने यात्रुमा संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, चर्चित कन्दरा ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठ, संगीतकार सुनिल थापालगायत कलाकार पनि थिए ।

नेपाल एशोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले उनीहरूलाई स्वागत गर्दै ध्यान तथा मेडिटेसनमा प्रयोग हुने ‘सिङ्गिङ बाउल’ मायाको चिनोका रूपमा प्रदान गरेको थियो । नाट्टा गण्डकीकी अध्यक्ष संगीता पौडेलले स्वागतसँगै शान्तिको कामना गर्दै सिङ्गिङ बाउल प्रदान गरिएको बताइन् । पोखराबाट दुबई प्रस्थान गरेका यात्रुलाई पनि खादा र माला लगाएर बिदाइ गरिएको थियो ।

  • अन्तर्राष्ट्रिय बजारमा पहुँच बढ्ने अपेक्षा

फ्लाई दुबईको उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । दुबई विश्वका दुई सयभन्दा बढी देशका सहरसँग हवाई सञ्जालमा जोडिएको प्रमुख ट्रान्जिट सहर भएकाले पोखराको पर्यटन बजार विस्तारमा यसले महत्वपूर्ण भूमिका खेल्ने पर्यटन व्यवसायीको अपेक्षा छ । नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोस पोखरेलले नेपाल सरकारको अग्रसरता अनि गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साथले व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सफल भएको बताए । अन्तर्राष्ट्रिय व्यवसायिक उडानसंगै पोखराको अन्तर्राष्ट्रिय पहुँच बढेको चर्चा गरेका उनले नेपाल पर्यटन बोर्डले पनि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने जानकारी दिए ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानलाई पोखराको पर्यटनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएर यसको नियमितता र दीगोपनामा ध्यान दिनुपर्ने बताए । ‘यो फ्लाइट ऐतिहासिक हो र पोखराको पर्यटनका लागि कोशेढुंगा सावित हुने विश्वास लिएका छौं,’ उनले भने ।

फ्लाई दुबईको उडान सफल भए कतार एयरवेज, एयर इन्डियालगायत अन्य ठूला हवाई कम्पनीलाई पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आकर्षित गर्न सकिने श्रेष्ठको भनाइ छ ।

फ्लाई दुबईको उडानको सफलताले अन्य अन्तर्राष्ट्रिय उडान विस्तारको आधार तयार गर्ने भएकाले पर्यटन क्षेत्र त्यसलाई सफल बनाउन लागिपरेको नाट्टा गण्डकीकी अध्यक्ष संगीता पौडेलले बताइन् । ‘हामीले पोखरा–दुबई उडानलाई दीगो बनाउन हरसम्भव प्रयास गरिरहेका छौं,’ उनले भनिन्, ‘यसलाई सफल बनाएरै छाड्ने प्रयासमा छौं ।’

  • पहिलो उडानका पर्यटकलाई निःशुल्क होटल र प्याराग्लाइडिङ

पोखरा–दुबई पहिलो उडानबाट पोखरा आएका पर्यटकलाई पोखरेली पर्यटन व्यवसायीले विशेष अफरसमेत दिएका छन् । पहिलो उडानबाट आएका इच्छुक प्रत्येक पर्यटकलाई एक रात निःशुल्क होटल बसाइको व्यवस्था गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

रानीवन अर्किड रिसोर्ट, टिका रिसोर्ट, गुडविल होटललगायत होटलमा निःशुल्क बस्ने व्यवस्था गरिएको छ। पहिलो उडानबाट आएका इच्छुक पर्यटकलाई निःशुल्क प्याराग्लाइडिङको व्यवस्थासमेत गरिएको श्रेष्ठले बताए।

त्यस्तै, रानीवन अर्किड, टिका रिसोर्ट र गुडविल होटलले दुई महिनासम्म प्रत्येक दिन दुईवटा कोठा निःशुल्क उपलब्ध गराउने भएका छन् । पोखराका होटलसँगको समन्वयमा फ्लाई दुबईबाट पोखरा आउने पर्यटकलाई निःशुल्क बसोबासको व्यवस्था गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । ‘इच्छुक सबैलाई बासको निःशुल्क व्यवस्था गरेका छौं,’ उनले भने।

  • ७ आश्विन २०८३, बुधबार २१:०५ प्रकाशित