काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चर्को रूपमा उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडै अस्वीकार गरेका छन् । उनले आफूले अध्यक्ष पद नछाड्ने निष्कर्ष समेत केन्द्रीय समिति बैठकमा सुनाएका छन्।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन मार्फत उनले सङ्कटको समयमा पार्टीलाई नेतृत्वविहीन बनाएर आफू मैदान छाडी नभाग्ने प्रस्ट पारेका हुन्।
प्रतिवेदनको आठौँ बुँदामा आफूमाथि भइरहेका चौतर्फी आक्रमण र आलोचनाको चर्चा गर्दै ओलीले नीति, कार्यशैली, उम्मेदवार छनोट र निर्णय प्रक्रियामा पार्टीभित्र हुने आलोचना सुन्न आफू सधैँ तयार रहेको बताएका छन्।
तर, आलोचनाका नाममा स्वास्थ्य, उमेर, शरीर र विगतको सङ्घर्षलाई जोडेर विरोधीले चलाएको चरित्रहत्याको भाषा पार्टीभित्र भित्र्याउन खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् । राष्ट्रिय स्वाधीनताको अडानलाई अहङ्कार, स्पष्ट भाषालाई तानाशाही र आत्मविश्वासलाई घमण्ड भन्नु राजनीतिक संस्कार नभएको उनको तर्क छ।
त्यसैगरी, नवौँ बुँदामा ‘पुनर्गठन’ को औचित्यमाथि प्रश्न उठाउँदै ओलीले यतिबेला अध्यक्ष विस्थापित गर्ने मनसायले ‘बेमौसमी बाजा’ बजाइएको दाबी गरेका छन्। चुनावी पराजयपछि नैतिक जिम्मेवारी लिनुको अर्थ सङ्गठनलाई अलपत्र पारेर हिँड्नु नरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘म पदको निजी प्रतिष्ठाका लागि होइन, पार्टीको मनोबल, सङ्गठनात्मक स्थिरता र सुरक्षित राजनीतिक संक्रमणका लागि उभिएको हुँ।’













