पोखरा ।
पोखराको पद्मनर्सिङ होम प्रालिको स्तरबृद्धिको नवीकरण गर्नका लागि बार्गेनिङ भएको घुसकाण्डप्रति गण्डकी प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त घुसकाण्डको विषयमा ध्यानाकर्षण भएको बताउँदै गण्डकी सरकारले आफैले पनि छानविन गर्ने भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि छानविनका लागि पत्राचार गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
गण्डकी प्रदेश सरकारको आईतबार साँझ बसेको मन्त्री परिषद बैठकले सो घुसकाण्डको छानविन गर्न तीन सदस्यीय छानबिन समिति बनाउनुका साथै अख्तियारलाई पनि छानविनका लागि आग्रह गर्दै पत्राचार गरेको हो ।
मन्त्री परिषद बैठकले प्रदेश स्वास्थ्य मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरिएका अनुमति वा अस्पताल स्तरोन्नतीको कानूनी व्यवस्था, अभ्यासलगायतका विषयमा छानविन गर्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिवको नेतृत्वमा ३ सदस्यीय छानविन समिति बनाएको प्रवक्ता तथा आर्थिक मामिला मन्त्री शेरचनले जानकारी दिएका छन् । छानविन समितिको सदस्यमा को को रहनेछन् भन्ने खुलाइएको छैन । छानविन समितिलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको मन्त्री शेरचनले बताएका छन् ।
त्यस्तै, मन्त्री परिषद बैठकले घुस काण्डमा मुछिएका स्वास्थ्य मन्त्रालयका सचिव डा युवानिधी बसौलालाई फिर्ता बोलाएको छ । अर्को व्यवस्था नहुन्जेलसम्मका लागि जिम्मेवारी खोसेर उनलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा काजमा हाजिर गराउने निर्णय भएको मन्त्री शेरचनले बताए ।
मन्त्री परिषद बैठकले घुस बार्गेनिङमार्फत स्तरबृद्धिको अनुमति दिइएको पद्मनर्सिङ होमको नवीकरण गर्ने निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ । मन्त्री शेरचनको अनुसार सो विषय छानविनको चरणमा रहेको हुँदा उक्त अनुमती कार्यान्वयन नगर्ने, नगराउने वा स्थगन गर्ने निर्णय बैठकले गरेको छ ।
सो ५० शैयाको अस्पताल स्तरोन्नती गरि १ सय शैयाको बनाउन दिइएको ६ महिने परीक्षण काल सकिएपश्चात नवीकरण गर्ने क्रममा तत्कालीन प्रदेश मन्त्री लक्ष्मणबहादुर पाण्डेसहित उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौलाले ३० लाख रुपैयाँ घुस मागेको अडियो भिडियो सार्वजनिक भएको थियो ।
बार्गेनिङ गरेको अडियो भिडियोमा मन्त्री र स्वकीय सचिवले आर्थिक लेनदेनका लागि बार्गेनिङ गरे पनि रकम लिएको अस्वीकार गरेका छन् । उनीहरुले मन्त्रालयका सचिव बसौलाले रकम मागेकाले सोहि अनुसार आफूहरुले आर्थिक लेनदेनको कुरा गरेको आरोप लगाएका छन् ।
तर सचिव बसौलाले भने आफूले कसैसँग पनि आर्थिक लेनदेनको कुरा नगरेको भन्दै घुस बार्गेनिङको आरोप अस्वीकार गरेका छन् ।














