बाढी प्रभावित बालबालिकालाई शेष घले दम्पतीको ५७ करोडभन्दा बढीको सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र उनकी पत्नीले ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।

घलेको संस्था एमआइटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी गरी उक्त रकम खर्च गर्ने निर्णय गरेको हो। यससम्बन्धी जानकारी घलेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

सम्झौताअनुसार बाढीप्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि सहयोग जुटाइनेछ। यो सहयोग रकम बालबालिकाको आवश्यकताअनुसार शिक्षा, खाना, आवास, कपडा र स्वास्थ्य उपचारजस्ता आधारभूत क्षेत्रमा प्रयोग हुनेछ।

बालबालिका हुर्कंदै जाँदा उनीहरूले भोगेको सास्तीले भविष्यका अवसर नछिनियोस् र उनीहरूलाई कसैले बिर्सेको छैन भन्ने अनुभूति होस् भन्ने उद्देश्यले यो पहल गरिएको संस्थाले जनाएको छ।

  • ४ आश्विन २०८३, आईतवार १७:०८ प्रकाशित