काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर १ वैशाखदेखि सुरु परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवा विस्तार गरी अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् ।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं वाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर गर्नेमा काठमाडौं र ललितपुर महानगरपालिका तथा बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका छन् । यसमा साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरे ।

हस्ताक्षर लगत्तै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानबाट नागरिकका लागि प्रत्याभूत आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवा थप विकास र विस्तार गर्दै लगिएको बताइन् ।

उनका अनुसार परीक्षण कालमा अभ्यास गरिएको २ वटा रुटमा ४ वटा बस थपिएको छ । ७ वटा गाडीलाई ३० वटा पुर्‍याइएको छ । ४ नगरपालिकाको सहकार्यमा ९ पुगेको छ ।

  • ४ आश्विन २०८३, आईतवार १६:१३ प्रकाशित