बर्दियामा गुडिरहेको हाइसमा आगलागी

केन्द्रभाग मिडिया

symbolic picture

बर्दिया ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित चोकमा गुडिरहेको भाडाको हाइसमा आगलागी भएको छ । कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ज ४३३ नम्बरको हाइसमा शनिबार आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले जानकारी दिए ।

उनका अनुसार हाइसमा आगलागी कसरी भयो भन्नेबारे यकिन हुन सकेको छैन । घटनास्थलमा प्राविधिक टोली पुगेर आगलागीको कारणबारे जाँच गरिरहेको प्रहरीले जनाएको छ । हाइस कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए ।

हाइसमा चालक र सहचालकबाहेक अन्य यात्रु नरहेकाले ठुलो दुर्घटना तथा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । आगलागीबाट हाइसमा रहेका महत्त्वपूर्ण कागजपत्र सहित नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

आगो नियन्त्रणका लागि ठाकुरबाबा नगरपालिकाको दमकल घटनास्थल पुगेको थियो । आगलागीका कारण महेन्द्र राजमार्गमा यातायात आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।आगलागीपछि हाइसलाई सडक छेउमा राखेर प्राविधिक टोलीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • ४ आश्विन २०८३, आईतवार १५:२२ प्रकाशित