काठमाडौं ।
नेपाली कांग्रेसले गण्डकी प्रदेशको सर्वाङ्गीण विकासका लागि पर्यटन, कृषि, र जलवायु परिवर्तनको जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताएको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा कांग्रेस संसदीय दलका नेता कमला पन्तले गण्डकी प्रदेशको गौरवशाली इतिहासलाई आर्थिक समृद्धिको जग बनाउनुपर्ने धारणा राखिन्।
सांसद पन्तले गोरखालाई नेपाल एकीकरणको उद्गमस्थल र वीरताको प्रतीकका रूपमा मात्र नभई न्यायको खोजीमा पुगिने ऐतिहासिक थलोको रूपमा चर्चा गरिन्। उनले गण्डकी प्रदेशलाई एउटै सहर वा सीमित गन्तव्यमा मात्र नखुम्च्याई ‘इन्ट्रिगेटेड टुरिज्म सर्किट’का रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरिन्।
‘पर्यटक पोखरा आइसकेपछि गोरखा, मनास्लु, लमजुङ, मनाङ, मुस्ताङ हुँदै बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा र नवलपुरसम्म पुग्ने गरी पर्यटन सर्किट निर्माण गर्नुपर्छ,’ उनले भनिन्।
गण्डकी प्रदेशको सबैभन्दा संवेदनशील विषय हिमाल, हिमनदी र जलवायु परिवर्तन भएको बताउँदै पन्तले यसलाई वातावरण मन्त्रालयको मात्र नभई अर्थ, ऊर्जा र पूर्वाधार मन्त्रालयको साझा चिन्ताको विषय बनाउनुपर्नेमा जोड दिइन् । उनले विपद् आइसकेपछि उद्धार गर्ने परम्पराभन्दा जोखिम आउनुअघि नै घटाउने संस्कृतिको विकास गर्नुपर्ने बताउँदै ‘अर्ली वार्निङ सिस्टम’लाई स्थानीय तहसम्म प्रभावकारी बनाउनुपर्ने माग गरिन्।
उनले सरकारसँग गण्डकी हिमाली जलवायु तथा हिमनदी अनुसन्धान केन्द्र स्थापना गर्न, ठुला पूर्वाधार निर्माण गर्दा जलवायु जोखिमको अनिवार्य मूल्याङ्कन गर्न र स्थानीय समुदायको परम्परागत ज्ञानलाई वैज्ञानिक प्रविधिसँग जोड्न सरकारको ध्यानाकर्षण गराइन्।
गाउँ गाउँमा सडक, विद्यालय र स्वास्थ्य संस्था पुगे पनि युवाहरू गाउँ छोड्न बाध्य हुनुको कारण खोजी गर्दै उनले गाउँलाई बस्न लायक मात्र होइन कमाउन लायक बनाउनुपर्ने बताइन् । कृषि, पर्यटन र उद्यमशीलतालाई स्टार्टअपसँग जोडेर गाउँको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उनको भनाइ थियो।
सांसद पन्तले गण्डकीका ११ वटै जिल्लाका विशिष्ट पहिचानलाई आर्थिक शक्तिमा रूपान्तरण गर्ने गरी नयाँ विकास मोडलको खाका प्रस्तुत गरिन्। उनले कालीगण्डकी, बुढीगण्डकी र मर्स्याङ्दी करिडोरलाई कृषि, ऊर्जा र हरित अर्थतन्त्रको केन्द्रका रूपमा विकास गर्न जोड दिइन्। ‘सडक र भवन बनाउनु मात्र विकास होइन, मानिसको जीवनमा आएको परिवर्तन नै विकासको वास्तविक मापदण्ड हो,’ उनले भनिन्।













