काठमाडौं।
प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेस गर्न नसकेका राष्ट्रसेवक कर्मचारीका लागि सरकारले थप ३० दिनको समय दिएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखानाले रसुवाको भोटेकोशी बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्रमा कार्यरत कर्मचारी तथा उद्धार, राहत र व्यवस्थापनका लागि काजमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई लक्षित गरी म्याद थप गरेको हो ।
राष्ट्रिय किताबखानाका अनुसार २०८३ भदौ १० गतेको रसुवा भोटेकोशी बाढीका कारण नेपाल सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत रही सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी दायित्व भएका, तर तोकिएको समयमा विवरण बुझाउन नसकेका कर्मचारीले यो सुविधा पाउनेछन् ।
त्यस्तै, सरकारको निर्णयअनुसार उक्त क्षेत्रमा राहत, उद्धार तथा व्यवस्थापनका लागि काजमा खटाइएका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकलाई समेत थपिएको म्याद लागू हुनेछ ।
राष्ट्रिय किताबखानाले भदौ ३० गतेदेखि लागू हुने गरी ३० दिन, अर्थात् असोज २८ गतेसम्म सम्पत्ति विवरण पेस गर्ने म्याद थप गरेको जनाएको छ ।
तर थपिएको समयभित्र विवरण पेस गर्दा विपद्का कारण निर्धारित समयमा सम्पत्ति विवरण बुझाउन नसकेको स्पष्ट कारण खुलाइएको सम्बन्धित कार्यालय प्रमुखबाट जारी आधिकारिक सिफारिसपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
राष्ट्रिय किताबखानाले सम्बन्धित सबै राष्ट्रसेवक कर्मचारीलाई थपिएको म्यादभित्र आवश्यक कागजातसहित सम्पत्ति विवरण पेस गर्न अनुरोध गरेको छ ।













