विभाजनलाई रोकेर मध्यमार्गी र समझदारीको बाटो खोजौं : डा.शेखर कोइराला

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विभाजनलाई रोकेर मध्यमार्गी र समझदारीको बाटो खोज्न आह्वान गरेका छन् ।

डा. कोइरालाले पार्टीभित्रको आन्तरिक विभाजन र गुटबन्दीप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन आह्वान गरेका हुन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेसको आसन्न महाधिवेशन र मुलुकको वर्तमान अवस्थाबारे चिन्ता प्रकट गरेका हुन् ।

विज्ञप्तिमा डा.कोइरालाले लेखेका छन्, ‘नेपाली कांग्रेस आज आफ्नो विरासत र आदर्शबाट विचलित हुँदै गएको छ । हामी न अजेय छौं, न त विजयी नै । हामी विभाजित र गन्तव्य हराएको माझीझैं भएका छौं ।’ उनले पार्टीका संस्थापक नेता बीपी कोइरालाको राजनीतिक र नैतिक दर्शनलाई आत्मसात् गर्दै पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएका छन् ।

 पार्टीको आसन्न दुईवटा महाधिवेशनले देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पार्न सक्ने नकारात्मक असरप्रति सचेत रहन उनले आग्रह गरेका छन् । ‘यो विभाजनलाई रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं,’ उनले लेखेका छन् ।

कसैलाई हराएर वा अपमानित गरेर जित्ने उत्सव मनाउनु कांग्रेसको संस्कार र संस्कृति नभएको उनको टिप्पणी छ । आफू कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहने एक कांग्रेस सिपाही भएको उल्लेख गर्दै उनले एकताको अभियानमा लाग्न सम्पूर्ण कार्यकर्तालाई आह्वान गरेका छन् ।

‘म कसैप्रति आरोपप्रत्यारोप गर्न चाहन्न । हामी उठ्छौं, जुट्छौं र जित्छौं । यही भरोसा र विश्वासका साथ पार्टी एकता अभियानमा जुट्न गाउँदेखि विदेशसम्मका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु,’ डा। कोइरालाले लेखेका छन् ।

आफूले निरन्तर संवाद र एकताको प्रयास जारी राख्ने बताउँदै डा. कोइरालाले छिट्टै पार्टीका साथीहरूसँग भेट्न गाउँघर आउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

  • १ आश्विन २०८३, बिहीबार १४:५८ प्रकाशित