काठमाडौं।
नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँद् (सुक्खा याम) मा लोडसेडिङ हुन नदिन अग्रिम तयारी थालेको छ ।
प्राधिकरणले भदौ १० गते भोटेकोशीमा आएको बाढीले १३ जलविद्युत् आयोजनामा ठुलो क्षति गरेसँगै सुक्खा याममा विद्युतको लोड व्यवस्थापनका लागि आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ ।
बाढीले नेपालका धेरै जलविद्युत् आयोजनामा क्षति पुर्याएकाले आन्तरिक बिजुली उत्पादन क्षमता घटाउने र थप बिजुलीको माग बढाउने देखिएको छ । वर्षायाममा बिजुली निर्यात गर्दै आएको नेपालले सुक्खायाममा भने आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्दै आएको छ ।
प्राधिकरणका अनुसार त्यही अनुरुप हिउँदको विद्युत् माग धान्न भारतले ६५४ मेगावाट आयातको स्वीकृति दिएको छ । भारतले आगामी पुस १६ सम्म नेपाललाई दैनिक १८ घण्टा बिजुली आयात गर्न दिने भएको छ ।
भारतको ऊर्जा मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई २८ भदौदेखि आगामी १६ पुससम्म बिजुली आयात अनुमति नवीकरण गरिएको उल्लेख छ । भारतले नेपालमा पुस १६ सम्म राति १२ बजेदेखि साँझ ६ बजेसम्म आयात गर्न दिने भएको छ ।
‘भारतको स्वीकृतिले नेपालको आवश्यक बिजुलीको माग परिपूर्ति गर्न मद्दत गर्नेछ । नेपाल र भारतबिचको ऊर्जा सहकार्यलाई थप सदृढ बनाउनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालसँग ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य सदृढ गर्नसमेत भारत प्रतिबद्ध छ ।’
भारतले पछिल्लो पटक चैत १८ देखि वैशाख २ गतेसम्म २४ घण्टा, वैशाख ३ देखि असार १६ सम्म १६ घण्टा र असार १७ देखि भदौ १५ सम्म २४ घण्टा बिजुली दिने गरी स्वीकृति नवीकरण गरेको थियो ।
भारतले ४०० केभीको ढल्केबर–मुजफ्फरपुरबाट ६ सय मेगावाट र १३२ केभीको टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट बिजुली नेपाललाई आयात गर्न दिएको प्राधिकरणले जनाएको छ । आगामी जनवरी २०२७ देखि गरिने आयातका लागि भने डिसेम्बर २०२६ मा समीक्षा गरिने विज्ञप्तिमा उल्लेख छ ।
विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले प्राधिकरणले आगामी पुस १६ गतेसम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न सक्ने गरी व्यवस्थापन गरिरहेको बताए । उनले बाढीको कारण जलविद्युतमा ठुलो क्षति भएकाले त्यसलाई मध्यनजर गरी हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन समयमै भारतसँग समन्वय गरेर आयातको स्वीकृति लिएको स्वीकार गरे ।
श्रेष्ठका अनुसार प्राधिकरणले अतिरिक्त सुक्खा यामको विद्युत् व्यवस्थापनलाई अझै सहज र सुरक्षित बनाउन प्राधिकरणले थप १५० मेगावाट विद्युत् द्विपक्षीय राउन्ड द क्लक ९आरटीसी० मोडमा आयात गर्नका लागि समेत भारतमा प्रस्ताव पठाइसकेको छ ।














