पोखरा ।
पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले तीजको दर खान सदस्यहरूबाट उठाएको रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको छ।
भोटेकोशी बाढीबाट प्रभावितलाई राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले दर खान उठाइएको १ लाख २१ हजार १०१ रुपैयाँ कोषमा जम्मा गरिएको ओटेफकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिइन् ।
बाढीबाट हजारौं नागरिक प्रभावित भएकाले यस वर्ष तीज नमनाउने निर्णय गर्दै दरका लागि उठाइएको रकम विपद् प्रभावितलाई सहयोग गरिएको उनले बताइन्।
ओटेफले यस वर्ष तीज कार्यक्रम नगर्ने निर्णय गरेको पनि उनले बताइन्। संस्थाले नयाँ पदमार्गको खोजी तथा प्रवर्द्धन गर्नुका साथै पर्यटन क्षेत्रमा सक्रिय महिलाको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ।











