रसुवा बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन

केन्द्रभाग मिडिया

पोखरा ।

रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा कास्की जिल्लाका १४ जना सम्पर्कविहीन भएका छन् । कास्कीबाट त्यस क्षेत्रमा पुगेका १४ जना नागरिकहरू सम्पर्कविहीन भएका विवरण आफन्तले प्रशासनमा टिपाएका हुन् ।

बाढी आएपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका उनीहरूको खोजीका लागि परिवारजनले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए ।

काम, भ्रमण तथा अन्य प्रयोजनका सिलसिलामा रसुवा पुगेका आफ्ना आफन्तहरू सम्पर्कविहीन भएको जानकारी सहितको विवरण आफन्तले प्रशासनलाई जानकारी गराएका छन् । तिमध्ये कास्की जिल्ला घर भएकामात्रै १० जना छन् भने अन्य ४ जना कास्कीमा बसोबास गर्दै आएका तर स्थायी घर कास्की नभएकाहरू पनि छन् ।

पोखरा १७ की सविना पौडेल, पोखरा १५ का छमप्रकाश थापा, सोही वडाका मनु बुढा, पोखरा ५ की सृष्टि बास्तोला, पोखरा ६ का अभिषेक आचार्य, पोखरा १२ का सुमन श्रेष्ठ, सोही वडाका लिलाबहादुर थापा सम्पर्क विहीन छन् । यस्तै, पोखरा १५ की देविकुमारी गुरुङ, पोखरा १३ की विनु गुरुङ र पोखरा १४ का गोविन्दबहादुर अधिकारी सम्पर्कविहीन छन् ।

यसबाहेक सिरहाको धनगढीमाई नगरपालिकाका आनन्दकुमार महतो, सिन्धुलीका प्रविन पुर्जा, काठमाडौँका राजेश शर्मा र ठेगाना खुल्न नसकेकी प्रमिला पाठक पनि हराएको भन्दै कास्की प्रशासनमा जानकारी गराइएको छ । राजेश दुई बालबालिकासहित हुनसक्ने अनुमान गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि पोखराबाट सहयोग सुरु भएका छन् । पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा उद्धार र प्राथमिक उपचारका लागि नगर प्रहरी, स्वास्थ्यकर्मीको टोली र आवश्यक सामग्रीसहितको एम्बुलेन्स परिचालन गरेको छ ।

  • १२ भाद्र २०८३, शुक्रबार १२:५६ प्रकाशित