पोखरा ।
पोखरामा यस वर्षको गाईजात्रा महोत्सव यहि भदौ २० गते शनिबार आयोजना हुने भएको छ ।
नेवा : खल कास्कीको आह्वानमा हुने गाईजात्रा महोत्सवमा हरेक वर्ष जस्तै यसवर्ष पनि तायाःमचा नृत्य प्रतियोगिता हुने पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । तथा गाईजात्रा महोत्सव आयोजना हुने भएको छ ।
नेवाःखल कास्कीको आह्वान तथा लामाचौर नेवाः खल गुठी कास्कीको आयोजनामा तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सवको २७ औं श्रृंखला पोखरा–१६ लामाचौर चोकमा हुने जानकारी दिइएको छ ।
गाईजात्रा यस वर्ष भदौ १३ गते शनिबार परेको छ । गाईजात्राको दिन घर-घरबाट गाईजात्रासँगै तायाःमचा निकालेर बजार परिक्रमा गराउने चलन छ । त्यहि परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा निरन्तर तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।
तर गाईजात्राका दिन बजार परिक्रमा गर्दागर्दै रात पर्ने भएकाले गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
विगत २७ वर्षदेखि आयोजना हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता पहिलो पटक लामाचौरमा हुन लागेको हो । यसअघि पोखराको भैरबटोल, विन्ध्यबासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक, रामबजार, लेखनाथ लगायतका क्षेत्रमा भइसकेको छ ।
प्रतियोगितामा यस वर्ष ३८ वटा टीम सहभागी हुने आयोजकको अनुमान छ । जसमा महिला १२ टिम सहभागी हुने लामाचौर नेवा ः खल गुठीका सचिव योगेन्द्र श्रेष्ठ ९युगीन०ले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले यस वर्ष अप्रतियोगीसहित ४० टिम सहभागी हुने बताए । उनका अनुसार कास्कीमा नेवाःखलका ४८ वटा कचाः खल ९शाखा० छन् । बाँकी ८ कचाःखलमा पातलो बस्ती र बसाईंसराईका कारण ती ठाउँहरुमा तायाःमचा नाच निकाल्न सकिएको छैन ।
यस वर्षको प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टीमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक लामाचौर कचाःखल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।
यस वर्ष महिलातर्फको उपाधि बिजेतालाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई १५ हजार प्रोत्साहन स्वरुप प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा पुरस्कारको लागि आवश्यक सम्पूर्ण रकम नगद १० लाख पोखरा–३ तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रृष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना स्वर्गिय माता पीता हेमप्रसाद श्रेष्ठ र बालकुमारी श्रेष्ठको स्मृतिमा प्रदान गर्ने भएका छन् । अन्य रकम भने प्रायोजक तथा सहयोगीबाट संकलन गरिने लामाचौर कचाःखल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।
तायाःमचा नाचको संरक्षण, र प्रर्वद्धनका लागि हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिताको निरन्तरता स्वरुप यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको आयोजक लामाचौर नेवाः खल गुठीले जनाएको छ । नेवारी समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा समावेश हुने बाजासहितको नाचलाई नै तायाःमचा भनिन्छ ।












