काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएपछि त्यसको तयारीका लागि आज पदाधिकारी बैठक बस्न लागेको पार्टीले जनाएको छ।
बैठकमा सभापति देउवा भने अनुपस्थित रहने भएका छन् । देउवा व्यस्त भएपछि उनीबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन् ।
कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका बारेमा छलफल गर्ने एजेन्डा छन् ।
सहमहामन्त्री परियारले त्यसबाहेक सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेकाले त्यसको तयारीका विषयमा समेत छलफल हुने बताए ।