काठमाडौं ।
जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफूलाई पुनः प्रहरीले पक्राउ गर्न खोजेको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् ।पक्राउ गर्न रोक्न माग गर्दै श्रेष्ठले अदालतमा रिट पेस गरेको उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकारी दिए ।
सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार मात्रै रिहा गर्न परमादेश जारी गरेको थियो । ललितपुर जिल्ला प्रहरी परिसरमा उपसभामुख रुबीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध साइबर कसुर अन्तर्गत जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले दुई दिनदेखि जिल्ला अदालत ललितपुरमा पक्राउ पुर्जीका लागि अनुमति मागिरहेको छ । पर्याप्त प्रमाण कागज नभएको भन्दै अदालतले दुई दिनदेखि पक्राउ पुर्जी दिन अस्वीकार गरेको छ ।
उनले आफ्नी श्रीमती सरस्वती श्रेष्ठले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चबाट रिहाइका निम्ति भएको परमादेशको जानकारी सहित उच्च अदालतलाई दिएका छन् । जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिन सक्ने आशङ्का गर्दै रोक्न रिटमा माग गरिएको छ ।











