काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजक संज्ञा दिएका छन् ।झापा एमालेले गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने रु पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भनेका छन् ।
एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको पनि उनले बताए । ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं,’ ओलीले भने । नेतृत्व फेर्ने प्रक्रियालाई मात्र पुनर्गठन नभनिने तर्क समेत उनले गरे । ‘अहिले पार्टी पुनर्गठन जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन । कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन,’ ओलीले भने, ‘कुनै कमिटीको होला । त्यस्तो व्यापक रूपमा भइरहन्छ । अधिवेशनहरू गरिरहन्छौं, पुनर्गठन हुँदैन ।’
विगतका अध्यक्षहरूको नाम लिएर ओलीले नेतृत्व फेर्ने कुरा मात्र पुनर्गठन नभएको बताए । नीति, गन्तव्य र कार्यक्रम बदल्ने कुरा चाहिँ पुनर्गठन हुने ओलीको भनाइ थियो ।











