कांग्रेसको संस्थापन इतर समूहको भेलामा विभिन्न प्रतिवेदन पेस

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहको अयोजनामा काठमाडौंमा जारी तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनहरू पेस भएका छन् । भेलामा रमेश लेखकले विधान संशोधन प्रस्ताव पेस गरेका छन् ।

४३ बुँदे संशोधन प्रस्तावमा एक व्यक्ति एक पददेखि पार्टीका सबै तहका उमेदवार छनोट समितिमा पूर्वसभापतिबाट निश्चित संख्यामा र सभापतिका निकटतम प्रतिस्पर्धीलाई समावेश गर्ने व्यवस्था गर्नेसम्म प्रस्ताव गरिएको छ ।

‘सामान्यतया एक व्यक्ति एकपटकमा एकपदमा मात्र जिम्मेवारीमा रहनसक्ने गरी आवश्यक व्यवस्था गर्ने,’ प्रस्तावमा उल्लेख छ, ‘समानुपातिक प्रणालीमा उमेदवार बनाउँदा वा पार्टीको तर्फबाट मनोनीत गर्दा निरन्तर अवसर प्रदान गर्ने अवस्थालाई निरुत्साहित गर्ने ।’

पार्टीको केन्द्रीय निर्वाचन प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, पार्टीको सबै तहका निर्वाचित सभापति र पदाधिकारीहरूको अविश्वास प्रस्ताव सम्बन्धमा समयसापेक्ष परिमार्जन गर्ने प्रस्ताव गरिएको छ ।

नेपाली कांग्रेसका अग्रज नेतृत्व, क्रियाशील सदस्यहरूलाई सम्मान स्वरुप केन्द्रीय कार्यसमितिले निर्णय गरी निश्चित संख्यामा मानार्थ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा मनोनयन गर्ने प्रस्ताव गरिएको छ ।

  • ३० श्रावण २०८३, शनिबार १४:०९ प्रकाशित