यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
देशभर मनसुन वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली छ ।

मधेश प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका हिमाली र पहाडी भागमा साधारणतया बदली तथा तराई भागमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

 

  • ३० श्रावण २०८३, शनिबार ०७:२१ प्रकाशित