पोखरा ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार) विहान मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा छ । कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको विभागले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ ।
मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ ।
मधेश प्रदेश साथै कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।













