काठमाडौं ।
आज (बुधबार) सूर्यग्रहण लाग्दैछ । आज लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ । विश्वका केही भागमा भने सूर्यग्रहण लाग्ने खगोलविद्हरूले बताएका छन् ।
आजको सूर्यग्रहण पृथ्वीका केही क्षेत्रमा पूर्णरूपमा र केही ठाउँमा आंशिक रुपमा मात्रै देखिने नासाले जनाएको छ । खगोलीय नियमअनुसार चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यको आंशिक वा पूर्ण प्रकाश पृथ्वीसम्म पुग्नबाट रोकिन्छ। जसको कारण सूर्यग्रहण लाग्छ । सूर्यग्रहण लाग्न चन्द्रमा, सूर्य र पृथ्वी एउटै सिधा रेखामा आउँनुपर्छ ।
आजको सूर्यग्रहण उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागहरूमा पूर्णग्रहणको रूपमा देखिनेछ । उत्तरी रुसको एउटा सानो र दुर्गम क्षेत्रमा दिउँसोको समयमा सूर्यग्रहण देखिने नासाले जनाएको छ ।
त्यसपछि यो पृथ्वीमा पूर्व दिशातर्फ बढ्दै स्थानीय समयअनुसार सूर्यास्त हुनुभन्दा ठिक अघि साँझपख स्पेनमा देखिनेछ । त्यसैगरी अमेरिकाको उत्तरी भाग, क्यानडा, उत्तर(पश्चिमी अफ्रिका र युरोपका धेरै क्षेत्रहरूमा आंशिक रूपमा सूर्यग्रहण देखिनेछ। केही ठाउँहरूमा सूर्यको ९० प्रतिशत वा सोभन्दा बढी भाग ढाकिएको देखिने वैज्ञानिकहरूले बताएका छन् ।
अफ्रिका र युरोपका केही भागमा सूर्यास्तको समयमा सूर्यग्रहण देखिनेछ । सूर्यग्रहणलाई खाली आँखाले हेर्न नहुने वैज्ञानिकहरुले बताएका छन् ।
साधारण सनग्लास लगाएर पनि सूर्यग्रहण हेर्न मिल्दैन । यसो गर्दा आँखाको रेटिनामा स्थायी रूपमा क्षति पुग्न सक्ने जोखिम हुन्छ । विशेष चस्मा लगाएर मात्र सूर्यग्रहण हेर्न सकिने वैज्ञानिकहरू बताउँछन् ।
नासालगायत धेरै संस्थाले आजको सूर्यग्रहणको प्रत्यक्ष प्रसारण (लाइभ टेलिकास्ट) गर्ने तयारी गरेका छन् । यसअघि २ असोज २०८२ मा पनि सूर्यग्रहण लागेको थियो । त्यतिबेलाको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन ।
त्यतिबेलाको सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्रै देखिएको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।












