रोल्पामा जिप दुर्घटना : ९ जना घाइते

केन्द्रभाग मिडिया

रोल्पा ।

रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। उक्त जिप गंगादेव गाउँपालिका–१ निवासी अन्दाजी २२ वर्षीय दिलकुमार वलीले चलाइरहेका थिए। जिपमा चालकसहित १० जना सवार रहेका थिए।

दुर्घटनापछि घाइते सबैको उद्धार गरी जुगारस्थित स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि सबै घाइतेलाई दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा रोल्पाको गंगादेव गाउँपालिका–१ गोठीखोलाका अन्दाजी ४१ वर्षीय धर्मराज डाँगी र सोही ठाउँका अन्दाजी ७७ वर्षीया सुपुरी डाँगी रहेका छन्। यस्तै गंगादेव गाउँपालिका–१ कै अन्दाजी २३ वर्षीय पलबहादुर घर्तीमगर र सोही ठाउँका अन्दाजी २४ वर्षीय सहचालक चित्रराम वली घाइते भएका छन्। घाइते सहचालक वलीको अवस्था गम्भीर रहेको छ।

त्यसैगरी रोल्पाको त्रिवेणी गाउँपालिका–७ दर्बैकी अन्दाजी २८ वर्षीया मनिका डाँगी र उनका ४ वर्षीय छोरा प्रदीप डाँगी, माडी गाउँपालिका–१ जबाङ दमुरीका अन्दाजी २५ वर्षीय पृथ्वी पुन मगर, झिनुवाका अन्दाजी २८ वर्षीय हरि वली तथा कवाडी खरिदको काम गर्ने भारतको मोतिहारी जिल्ला घर भएका अन्दाजी २५ वर्षीय सन्तोष सहनी घाइते भएका छन्।

  • १९ श्रावण २०८३, मंगलवार १६:२९ प्रकाशित