नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ)र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा मागेका छन् ।

नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा। उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा। चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए ।

अहिले नारायणी अस्पतालको आकस्मिक सेवा नै ठप्प बनाएर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । डा. सिंहका अनुसार सोमबार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू सकारात्मक बनेका थिए ।

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासन पाएपछि उनीहरू वार्ताका लागि सीडीओ कार्यालय पुगेका थिए । तर, त्यहाँको वातावरण एकाएक तनावपूर्ण बनेको उनको दाबी छ ।

गत ८ साउनमा वीरगन्जस्थित नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिटतथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । अहिले डा. रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकले देशव्यापी रुपमा ओपीडी सेवा ठप्प पारेका छन् ।

  • १२ श्रावण २०८३, मंगलवार १२:३७ प्रकाशित