काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबरा बसेको बैठकले नियुक्ति, शुल्क छुट र छानबिन समिति गठन सहितका ६ वटा निर्णय गरेको जानकारी दिए ।
बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको छ । त्यसैगरी, गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राज कुँवरलाई नियुक्त गरिएको छ ।
सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न विशेष सहुलियतको घोषणा गरेको छ । २०८५ साल भदौ मसान्तसम्मका लागि ती विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय बैठकले गरेको पोखरेलले बताए ।
यसैगरी मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले यसअघि भएको सम्झौतालाई अनुमोदन गरेको छ । यो निर्णयसँगै मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखतहरू ९तमसुक० आजकै मितिदेखि अवैध घोषणा भएका छन् ।
यस्तै, गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा एक न्यायिक समिति गठन गरिएको छ ।
बैठकले नागरिकलाई राहत दिने गरी शिक्षा र स्वास्थ्य क्षेत्रको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय समेत गरेको छ ।












