काठमाडौं ।
गएरातीदेखि देशभर वर्षा भईरहेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन स्थगित गरेको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् । सो पार्टीले विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलन स्थगित गरेको जनाएको छ।
मौसममा एक हप्तासम्म यस्तै रहने पूर्वानुमान रहेको उल्लेख गर्दै जनमत पार्टीले लोकमार्गकेन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका नगरपालिकाकेन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने जनाएको छ ।
मौसममा सुधार आएपछि फागुन १ गतेदेखि आन्दोलनका कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने पनि महासचिव सिंहले जनाएका छन् ।
जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित प्रदर्शन गर्दै आएको थियो । जनमतले आन्दोलनका क्रममा सर्वसाधारणका गाडीमा समेत तोडफोड र अगाजनी गर्दै अराजकता मच्चाउँदै आएको छ।