पोखरा ।
पोखरामा प्रहरीले क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइनमार्फत सट्टेबाजी गराउँदै आएको भारतीय नेटवर्कसँग आबद्ध गिरोहमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सेदी क्षेत्रमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको गिरोहसंगै करोडौं रुपैयाँको कारोबार भएको प्रारम्भिक प्रमाण फेला पारेको हो ।
अन्तर्राष्ट्रिय अनलाइन सट्टेबाजीको जालो नै भएको तथ्य फेला परेको र पक्राउ गरिएको कास्की प्रहरीले शुक्रबार पत्रकार भेटघाट मार्फत जानकारी गराएको छ । उनीहरुले क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइनमार्फत सट्टेबाजी गराउँदै आएका थिए ।
पक्राउ पर्नेमा दार्चुला घर भई हाल पोखरा १८ बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा, भारतको भुपा मानुपुर घर भई हाल पोखरा १८ बस्ने ३४ बर्षीय सत्यम सिंह, २४ वर्षीय हर्ष उसरेटे, २३ बर्षीय विशाल चाउ, २२ बर्षीय मान सिंह तमार, २७ बर्षीय बिक्रान सिंह, २६ बर्षीय अजितेश कुमार मिश्र र २४ बर्षीय सत्यम राजपूत रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
उनका अनुसार पोखरा १८ सेदीस्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा शुक्रबार बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा मारेको हो । पक्राउ परेका भारतीय नागरिकमध्ये ३४ वर्षीय सत्यम सिंह मुख्य सञ्चालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटनास्थलबाट सात थान ल्यापटप, छ थान मनिटर, ३१ थान मोबाइल, नौ थान किबोर्ड, ३४ थान भारतीय सिमकार्ड, दुई थान राउटर, एक थान यूपीएस, एक थान १२ भोल्ट ब्याट्री, १६ थान चार्जर तथा अन्य विद्युतीय उपकरण बरामद गरेको छ । ती सामग्री अनलाइन सट्टेबाजी सञ्चालनमा प्रयोग हुँदै आएको एसपी कार्कीले जानकारी दिए ।
अनुसन्धानका क्रममा गिरोहले १८ चैत २०८२ देखि सात कोठाको घर भाडामा लिएर सञ्चालन थालेको खुलेको छ । टेलिग्राम र ह्वाट्सएपमार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामक लिंक पठाई ग्राहकलाई रकम जम्मा गराउन लगाउने, त्यसपछि दर्ता गरी क्रिकेट, फुटबल तथा क्यासिनोका खेलमा सट्टेबाजी गराउने गरिएको थियो ।
हारजितको हिसाबअनुसार जित्ने व्यक्तिलाई अनलाइनबाटै रकम भुक्तानी गर्ने गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको बयानका आधारमा गिरोहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको खुलेको छ । उनीहरूले भारतीय बैंक खाता तथा डिजिटल वालेट प्रयोग गरी सम्पूर्ण आर्थिक कारोबार अनलाइनबाट सञ्चालन गर्दै आएका थिए ।
यो केन्द्र भारतीय नेटवर्कको २७औँ शाखाका रूपमा सञ्चालन भइरहेको र त्यहाँ काम गर्ने प्रत्येक व्यक्तिले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।













