काठमाडौं ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह गरेका व्यक्तिको पहिचान खुलेको छ । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आत्मदाह प्रयास गरेका नेपालीले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेर राखेका थिए ।
‘उहाँले पार्किङ गरेर राखेको मोटरसाइकलमा नगर प्रहरीको टोलीले ह्विल लक गरेको सम्म थाहा भयो, उहाँले त्यही कारणले आत्मदाह प्रयास गर्नुभयो वा अन्य भन्ने चाहीँ बुझ्ने क्रममा छौं,’ एसपी भट्टराईले भने ।
प्रहरीका अनुसार, उनी हल्का बोल्नसक्ने अवस्थामा छन् । करिब ६५ प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ ।आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।













