एक्लै हिडिरहेकी युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतविरुद्ध ५ दिन म्याद थप

केन्द्रभाग मिडिया

काठमाडौं ।

ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारीबारे अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।

सोमबार पक्राउ परेका बैतडी घर भएका सुरेन्द्र भट्टमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

प्रहरी वृत्त सातदोबाटोले उनीविरुद्ध सार्वजनिक स्थलमा अश्लील प्रदर्शन गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । भट्ट शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा समन्वय इकाईमा दरबन्दी भएर सिंहदरबारस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत छन् ।

आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ ।

त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन् । अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ ।

प्रहरीले अनुसन्धानको लागी घटनास्थलको सिसिटिभी फुटेज सङ्कलन गरेको छ ।

  • २३ असार २०८३, मंगलवार १६:५७ प्रकाशित