खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुमवासीहरू उत्रिए विरोधमा : सुरक्षाकर्मी परिचालन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले खानाको व्यवस्था नगरेपछि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुमवासीहरूमा विरोधमा उत्रिएका छन् ।

सोमबार बेलुकादेखि आफूहरूले खाना नपाएको त्यहाँ बसेका सुकुमवासीहरू बताएका छन् ।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले सोमबार विहानसम्म खाना पाएको बताए । उनले भने, ‘हिजो बिहान खाना खाएर निस्केको हुँ । साँझदेखि खाना नदिएको रहेछ । म कोठा खोज्दै हिंडेको छु ।’

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । ‘सरकार आफैले होल्डिङ सेन्टरमा बस्न दिएको अवधीसम्म पनि भोकै राख्यो,’ खरिपाटीकै अर्का सुकुमवासी भन्छन्, ‘हाम्रो भन्दाबढी विचल्ली विरामी, पाका उमेरका र बालबालिकाको भयो । खाना खाएपछि खानु पर्ने औषधि नखाई बस्नु भएको छ ।’

सरकारले गत वैशाखमा बागमती र मनोहरा किनारका बस्ती खाली गरेर विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो । खरिपाटीमा ९९ परिवारका २०७ जना छन् ।

सुकुमवासीले विरोध गर्न थालेपछि अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • २३ असार २०८३, मंगलवार १२:३७ प्रकाशित