पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति अधिकारीद्वारा पदभार ग्रहण

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा देवेन्द्र अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् ।

पोखरा–३०, खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा कार्यभार सम्हाल्दै उनले शैक्षिक क्यालेण्डरको पूर्ण पालना र परीक्षा सकिएको ३० दिनभित्र नतिजा प्रकाशन गर्ने घोषणा गरेका छन् ।

अधिकारीले विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, अनुसन्धान, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रियकरणतर्फ लैजाने प्रतिबद्धता जनाए । विश्वविद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिलाई समयबद्ध बनाउन एकीकृत प्रणाली (इन्टिग्रेटेड सिस्टम) विकास गरी एउटै प्लेटफर्मबाट सूचना र सेवा उपलब्ध गराइने उनले बताए ।

गुणस्तरीय शिक्षाका लागि न्यूनतम शैक्षिक मापदण्ड कडाइका साथ लागू गर्ने नीति अधिकारीले अघि सारेका छन् । विश्वविद्यालयलाई सरकारी अनुदानमा मात्र निर्भर नराखी आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने र यसका लागि सरोकारवालाको विश्वास जित्नुपर्नेमा उनले जोड दिए ।

अधिकारीले कुनै पनि विश्वविद्यालयको पहिचान अनुसन्धान र नवप्रवर्तनबाट मात्र स्थापित हुने धारणा राखे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानलाई उच्च प्राथमिकता दिँदै उनले शिक्षक र विद्यार्थीलाई अनुसन्धान संस्कृतिमा जोडिने उल्लेख गरे । उनले विश्वविद्यालय सभा, प्राज्ञिक परिषद् र कार्यकारी परिषद्लाई शीघ्र पूर्णता दिएर काम अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

  • २२ असार २०८३, सोमबार १६:५४ प्रकाशित