सरकारको १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा बनेको वर्तमान सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता सस्मित पोखरेलले आज सरकारको उपलब्धि सार्वजनिक गरेका हुन् । सार्वजनिक उपलब्धिमा सुशासन, सार्वजनिक सेवा प्रवाह, डिजिटल रूपान्तरण, भ्रष्टाचार नियन्त्रण, भूमि व्यवस्थापन तथा प्रशासनिक सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको दाबी गरिएको छ ।

सरकारले भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै सम्पत्ति छानबिन आयोग गठन गरेको । हजारौंको सम्पत्ति विवरण र उजुरी संकलन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको। वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरणविरुद्ध पनि कडा कदम चालिएको उपलब्धिमा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका सेवामा अनलाइन प्रणाली विस्तार गरिएको छ । राहदानीमा प्रि–इन्रोलमेन्ट र अपोइन्टमेन्ट प्रणाली लागू गरिएको छ भने धेरै स्थानीय तहबाट अनलाइन सिफारिस सेवा सुरु भएको छ । भूमि प्रशासन र नापी सेवामा डिजिटल प्रणाली जोडिँदा रोक्का, फुकुवा, प्लट रजिस्टर तथा नक्सा सम्बन्धी सेवा अनलाइनबाट उपलब्ध हुन थालेका छन् ।

प्रशासनिक सुधार अन्तर्गत मन्त्रालयहरूको संरचना पुनर्गठन, अनावश्यक निकाय खारेज, सरकारी खर्च कटौती तथा डिजिटल कर्मचारी व्यवस्थापन प्रणाली विकासको काम सुरु गरिएको छ। ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गरी लामो समयदेखि थन्किएका फाइल टुंग्याउने प्रयास गरिएको छ ।

नागरिक गुनासो व्यवस्थापन प्रणालीलाई पनि सुदृढ बनाइएको छ। ‘हेलो सरकार’ लाई संघ, प्रदेश र स्थानीय तहसँग जोडेर रियल टाइम अनुगमन व्यवस्था गरिएको छ । प्राप्त गुनासोमध्ये ठूलो हिस्सा फर्छ्योट भइसकेको सरकारले जनाएको छ ।

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको डिजिटल तथ्यांक संकलन गरी जग्गा धनी पुर्जा वितरण सुरु गरिएको छ । बर्दियामा पहिलो चरणमा २९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

सार्वजनिक तथा सरकारी जग्गा संरक्षण, अतिक्रमण हटाउने अभियान र नदी किनारका जोखिमयुक्त बस्ती व्यवस्थापनका काम पनि अघि बढाइएको छ । सरकारले यी सुधारलाई आगामी दिनमा थप संस्थागत र प्रभावकारी बनाउँदै नागरिक केन्द्रित सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त व्यक्त गरिएको छ ।

सरकारको १०० बुँदे उपलब्धि हेर्न यहाँ क्लिक गर्नुहोस्

 

  • २० असार २०८३, शनिबार १९:१७ प्रकाशित