पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलोकतान्त्रिक सरकार बने त्यसको पहिलो सिकार पत्रकार बन्ने टिप्पणी गरेका छन् । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी मिडिया समिट–२०८३’ को शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कलम भाच्चिएर मुख बन्द भएपछि मात्र अन्यतर्फ प्रहार हुने उनको टिप्पणी थियो । उनले यसलाई पुष्टि गर्न तत्कालिन राजा ज्ञानेन्द्र शाहले चालेको निरंकुश कदमको स्मरण समेत गराए ।
उनले सरकार वा व्यक्तिका कमजोरीमाथि आलोचना गर्नु पत्रकारको धर्म भए पनि त्यसक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान व्यवस्थाप्रति नै अविश्वास वा दुर्भाव सिर्जना हुने गरी कलम चलाउन नहुने उनको भनाई थियो । ‘यदि स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने सरकार आयो भने सबैभन्दा पहिले पत्रकारको कलम भाँचिन्छ,’ उनले भने, ‘त्यसैले कमजोरी उजागर गर्दा व्यवस्थामाथि नै आँच पुग्ने विषयमा संवेदनशील हुनुपर्छ । तर सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारितालाई भने सरकारले सधैं सम्मान गर्छ ।’
मुख्यमन्त्री पाण्डेले सरकारी विज्ञापन वितरणको विषयमा पनि कुरा उठाए । उनले पुराना दलहरुको नेतृत्वमा बनेको सरकारले अहिलेको सरकारले जस्तो सरकारी विज्ञापन सरकारी मिडियालाई मात्र दिने निर्णय गरेको भए ‘पत्रकारहरुले कस्तो आन्दोलन गर्ने थिए’ भन्ने प्रश्न समेत गरे । ‘हिजो पुराना दलको नेतृत्वमा यही निर्णय भएको भए सञ्चारमाध्यमले कस्तो आन्दोलन गर्थे होला ?’ भन्दै उनले सरकारी विज्ञापनसम्बन्धी निर्णयमा पनि समान मापदण्ड र निष्पक्षताको आवश्यकता औंल्याए ।
मुख्यमन्त्री पाण्डेले सिमित स्रोत–साधनका बीच जनताका असिमित अपेक्षा सम्बोधन गर्नुपर्ने सरकारको बाध्यता रहेको सुनाए । सञ्चार क्षेत्रका धेरै माग र आवश्यकतालाई सरकारले बुझिरहेको उल्लेख गर्दै उनले कानुनी र आर्थिक दायराभित्र रहेर सञ्चार क्षेत्रका समस्या समाधान गर्ने प्रयास गरिने बताए ।
उनले प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कमजोर हुन नहुने स्पष्ट पार्दै सत्य बोल्न र लेख्न कसैले रोक्न वा छेक्न नहुने धारणा व्यक्त गरे । ‘प्रविधिसँगै आमसञ्चार माध्यमले ठूलो फड्को मारेको छ । त्यससँगै चुनौती पनि थपिएका छन्,’ उनले भने, ‘सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यमबीचको भिन्नता जनतालाई स्पष्ट रूपमा बुझाउन सक्नुपर्छ।’
मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जाल होस् वा सञ्चारमाध्यम, सार्वजनिक हुने सबै सामग्री सत्य र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए । नेताको अभिव्यक्तिमाथि प्रश्न उठ्न सक्ने भएजस्तै पत्रकारको लेखनमाथि पनि प्रश्न उठ्न सक्ने तर्फ सचेत गराउँदै उनले जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे ।
उनले गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर सरकार गठन गरेकाले सरकारमाथि आलोचनात्मक आवाज केही कम सुनिएको टिप्पणी गरे । उनले पत्रकारलाई निरन्तर प्रश्न उठाउन, खोजी गर्न र सत्य उजागर गर्न आग्रह गरे ।












