पोखरा ।
लागु औषध ब्राउन सुगरसहित पोखराको छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १० उत्तमचोक घर भई वडा नम्बर १५ स्थित वडा कार्यालय अगाडी स्नुकर हाउस संचालन गर्ने वर्ष ३७ का जोन भन्ने गोविन्द थापा र उनका दाई वर्ष ३८ का जीवन भन्ने रुम बहादुर थापा लागुऔषधसहित पक्राउ परेका छन् ।
उनीहरुको कोठामा खानतलारी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १३ ग्राम ब्राउन सुगर र स्रोत नखुलेको ६ लाख ७ हजार नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमारले जानकारी दिए । जानकारी दिएको छ ।उनीहरु माथि ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
यस्तै पोखरा महानगरपालिका वडा नम्बर १५ पेन्सन क्याम्प नजिकै लागुऔषध सेवन तथा खरिद बिक्री भैरहेको सुचनाको आधारमा प्रहरीले लक्ष्मीटोल बस्ने वर्ष २९ का ज्ञाने भन्ने सुमन गुरुङलाई पक्राउ गरेको छ ।
उनको साथबाट ०.३७ मिलिग्राम ब्राउनसुगर, २ वटा डिजिटल तराजु र एउटा मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीमाथि ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यस्तै वीरगञ्जबाट पोखरा तर्फ आउँदै गरेको ग २ ख १६९५ नम्बरको सार्वजनिक बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार स्याङ्जा आँधिखोला गाउँपालिका २ बस्ने वर्ष ३२ का बिनोद क्षेत्री र फेदीखोला गाउँपालिका ५ बस्ने वर्ष २६ का रेशम क्षेत्री पक्राउ परेका छन् ।
उनीहरुले आफु बसेको सिटको झ्यालको पर्दामा लुकाई छिपाई ३१.०७ ग्राम ब्राउनसुगर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।उनीहरुमाथि ६ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।
यस्तै काँकडभिट्टाबाट पोखरा आउँदै गरेको ग प्र ००१ ख् ००३२ नम्बरको सार्वजनिक बसमा चेक गर्ने क्रममा बाँके कोहलपुर नगरपालिका १४ का वर्ष ३१ का सुरज सुनार पक्राउ परेका छन् । उनले बसको सिटको तलपट्टी लुकाई छिपाई ल्याएको १०५ ग्राम ब्राउन सुगरसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि पनि ६ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।












