मनसुनजन्य विपद् प्रतिकार्यका लागि हाई अलर्टमा सुरक्षा निकाय

केन्द्रभाग मिडिया

काठमाडौं ।
मनसुनजन्य विपद् प्रतिकार्यका लागि सरकारले तयारी थालेको छ ।

बुधबार र बिहीबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुन थप सशक्त बनेपछि देशभरका जोखिमयुक्त क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

सशस्त्र प्रहरीको ५४ मनसुन प्रतिकार्य बेस

सशस्त्र प्रहरी बल (एपीएफ) ले विपद्का बेला तत्काल उद्धार टोली खटाउन सहज होस् भनी देशभर ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य बेस’ स्थापना गरेको छ। एपीएफ प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार १६ वटा अति जोखिमयुक्त स्थानमा भने जनशक्ति र स्रोतसाधनसहितका स्थायी बेसहरू नै तयारी अवस्थामा छन्।

विपद्को सूचना लिन सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप र १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनका लागि जनशक्ति र प्रविधिको व्यवस्था विगतभन्दा सुधारिएको भए पनि भूगोलका कारण केही चुनौती बाँकी रहेको बताए। छरिएर रहेका पहाडी बस्ती र खोला किनारमा रहेका तराईका बस्तीमा राज्यको पहुँच पुर्‍याउन अझै मिहिनेत आवश्यक रहेको उनको भनाइ छ।

नेपाली सेनाको तीन चरणको विशेष कार्ययोजना

नेपाली सेनाले पनि बाढी–पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न तीन चरणको पूर्वतयारी अघि बढाएको छ। प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा योजना अद्यावधिक र संयुक्त अभ्यास, दोस्रोमा स्रोत(साधनसहितको पूर्व तैनाथी र तेस्रोमा प्रतिकार्य र पृष्ठपोषणलाई प्राथमिकता दिइएको छ।

बस्नेतका अनुसार, नेपाली सेनाले हवाई उद्धारका लागि इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टरहरू तयारी अवस्थामा छन्। त्यस्तै, पूर्वाधार सहयोगका लागि धादिङ, चितवन र बारामा बेली ब्रिज स्ट्यान्डबाइ राखिएको छ।

त्यस्तै, स्वास्थ्य सेवाका लागि आपत्कालीन मेडिकल किटसहितका फिल्ड अस्पतालहरू तयारी हालतमा रहेका बस्नेतले जानकारी दिए ।

सेनाले विपद्का घटनामा तत्काल जानकारी गराउन स्थानीय विपद् व्यवस्थापन समिति वा सेनाको जनसम्पर्क निर्देशनालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सरकारले जारी गर्ने मौसम पूर्वानुमानलाई नियमित पछ्याउन र उच्च सतर्कता अपनाउन पनि सेनाले अपिल गरेको छ।

  • १७ असार २०८३, बुधबार १२:२२ प्रकाशित