च्याउ खेतीबाट ध्रुव थापाको मासिक २ लाख बचत

कोरोना कहरले च्याउ खेतीतर्फ मोडिएका थापाले ५० लाखबाट लगानी २ करोड पुर्याए, १२ जनालाई दिएका छन् प्रत्यक्ष रोजगारी

गोविन्द सुवेदी

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको काहुँ सिस्नेरी एग्रो फर्म अहिले पोखरामा गोब्रे  र कन्य  च्याउ उत्पादन गर्ने परिचित व्यावसायिक फर्म बनेको छ । कोरोना कहरको बिचमा २०७८ मा स्थापना भएको सो एग्रो फर्मले अहिले एक पटकमा सात सय केजीसम्म च्याउ उत्पदन गर्ने गरेको छ ।

एग्रो फर्म खोल्नु अगाडि खाद्यान्न सप्लासर्य रहेका यसका सञ्चालक ध्रुव थापा कोरोनाको कहाली लाग्दा अवस्थाका बिचबाट स्वास्थ्यका लागि उपयोगी, उच्च प्रोटिनयुक्त र अर्गानिक उत्पादन गर्ने सोच बनाएर च्याउ खेतीतर्फ लागेको स्मरण गर्छन् । कोरोना महामारीका कारण धेरै व्यवसाय धरासायी बनेका बेला संकटलाई अवसरमा बदलेका उनले स्थानीय स्तरमै उच्च प्रविधिको प्रयोग गर्दै उत्पादन गरेको च्याउ उपभोक्ताले निकै रुचाएका छन् ।

थापाका अनुसार सुरुवाती चरणमा उनले आफ्नै २० लाख रुपैयाँ र बैंकबाट ३० लाख रुपैयाँ ऋण लिएर च्याउ उत्पादन सुरु गरेका थिए । त्यसबेला ५० लाख रुपैयाँको लगानीबाट सुरु भएको व्यवसाय अहिले विस्तार हुँदै करिब २ करोड रुपैयाँको लगानी पुगेको छ ।

व्यवसायबाट अहिले सबै खर्च कटाएर मासिक करिब २ लाख रुपैयाँ बचत हुने गरेको थापा बताउँछन् । वार्षिक रूपमा ३५ देखि ४० लाख रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ । उनको फर्ममा अहिले प्रत्यक्ष रुपमा १२ जनाले रोजगारी समेत प्राप्त गरेका छन् । लगानी विस्तारसँगै रोजारी र आम्दानी पनि अझै विस्तार गर्ने सोचका साथ अगाडि बढेको उनले बताए ।

थापा अहिले कृषि क्षेत्रमा भविष्य खोज्ने युवालाई विदेशभन्दा स्वदेशमै अवसर रहेको सन्देश दिन्छन्। मेहनत, धैर्य र आधुनिक प्रविधिको प्रयोग गर्न सके च्याउ खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । ‘कोरोना महामारीले व्यवसाय नै अन्योलमा परेको थियो, थापा भन्छन्, ‘त्यतिबेला मानिसलाई स्वास्थ्यका लागि फाइदा पुग्ने, उच्च प्रोटिनयुक्त र अर्गानिक उत्पादन गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि च्याउ खेती सुरु गरें ।’

च्याउ खेतीलाई धेरैले सहज व्यवसाय ठान्ने गरे पनि वास्तविकता फरक रहेको थापाको भनाइ छ । उनका अनुसार तापक्रम, आर्द्रता, सरसफाइ र व्यवस्थापनमा सामान्य लापरबाही हुँदा पनि ठूलो क्षति हुन सक्छ । यद्यपि चुनौतीका बीच पनि उनले व्यवसायलाई निरन्तर विस्तार गरिरहेका छन् । आगामी दुई वर्षभित्र अहिलेको जस्तै अर्को उत्पादन प्लान्ट थप्ने योजना रहेको उनले सुनाए । यसबाट उत्पादन क्षमता थप बढ्ने र रोजगारीका अवसर पनि सिर्जना हुने उनको विश्वास छ ।

सरकारले कृषि क्षेत्रमा केही नगरेको भन्ने गुनासो धेरै सुनिए पनि थापाको अनुभव भने फरक छ । काम गर्ने इच्छाशक्ति र सही योजना भए सरकारी कार्यक्रमबाट सहयोग प्राप्त गर्न सकिने उनको भनाइ छ । उनको सोचलाई व्यवहारमा परिणत गर्न तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अहिलेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्की उनको सारथी बनेको छ । उनले त्यहाँबाट ८० प्रतिशत अनुदान पाएको जानकारी दिए । त्यसैगरी राष्ट्यि कृषि आधुनिकीकरण परियोजनाबाट प्राविधि लगायतका सहयोग हुने गरेको उनले जानकारी दिए ।

‘सरकारले केही गर्दैन भन्ने मात्र होइन’ उनी भन्छन्, ‘गर्छु भन्ने दृढता हुनुपर्छ । हामीले तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अहिलेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाबाट ८० प्रतिशत अनुदान पाएका थियौं। त्यसले व्यवसाय विस्तार गर्न ठूलो सहयोग गर्‍यो ।’ उनका अनुसार सरकारी अनुदानले आधुनिक संरचना निर्माण र उत्पादन प्रणाली सुधार गर्न सहज भएको छ। यही कारण उत्पादन क्षमता पनि उल्लेखनीय रूपमा बढेको उनले बताए ।

खाद्यान्न सप्लायर्सबाट सुरु भएको उनको यात्रा अहिले सफल च्याउ उद्यमीका रूपमा स्थापित भएको छ । कोरोना महामारीले सिर्जना गरेको संकटलाई अवसरमा बदलेका ध्रुव थापा आज पोखरामा व्यावसायिक च्याउ उत्पादनका सफल उदाहरण बनेका छन् । स्थानीय उत्पादनलाई बजारसँग जोड्दै उनले स्वदेशमै रोजगारी, आयआर्जन र स्वस्थ खाद्य उत्पादनको उदाहरण प्रस्तुत गरेका छन् ।

  • १६ असार २०८३, मंगलवार १७:३५ प्रकाशित